
सरिता श्रेष्ठ / ७ मंसिर, धादिङ –
निर्वाचनको समय नजिकिदै गर्दा मतदातामा अन्यौल छाएको छ । उत्तरी क्षेत्रका मतदातालाई भोट कसरी हाल्ने भन्ने बारे नै थाहा छैन । रुविभ्याली ४ लापाका खोमाया तामाङलाई मंसिर १० गते हुने निर्वाचनमा तीनवटा मतपत्रमा भोट हाल्नुपर्छ भन्ने बारे थाहा नभएको बताउँछिन् । ‘न गाउँमा मतदाता शिक्षा दिएका छन्, न उम्मेदवारले नै आएर सिकाए, हरेक पटक भोट हाल्दा आफ्नै तरिकाले भोट हाल्ने गर्छु,’ –खोमाया बताउँछिन् । उनलाई कसैले मतदाता शिक्षा पनि दिएका छैनन् । उनी भन्छिन् –‘राजनीतिक दलहरु भोट माग्दै गाउँमा कार्यक्रम गरेका थिए तर भोट हाल्न मात्रै भने, मतदाता शिक्षाको बारेमा जानकारी नै दिएनन् ।’
तिप्लिङ मरिचमान तामाङ पनि भोट कसरी हाल्ने भन्नेमा अन्यौल छन् । उनी भन्छन् –‘कुन लाइनमा कसरी छाप लगाउँदा मत बदर हुँदैन, थाहै छैन ।’ स्थानीय तहको निर्वाचनमा सात ठाउँमा छाप लगाउनु परेको थियो, अहिले कति ठाउँमा छाप लगाउनुपर्ने हो थाहै छैन । गाउँमा अहिलेसम्म मतदाता शिक्षाको बारेमा जानकारी गराउन स्वंयसेवक आएका छैनन् । उम्मेदवारहरुले पनि गाउँमा चुनावीसभा गरेर फर्किएका छन् । घरघरमा डुलेका छैनन् । एकातिर भोट हाल्न धेरै समय लगाएर मतदान केन्द्रमा जानुपर्ने बाध्यता छ भने अर्कोतिर कसरी भोट हाल्ने भन्ने कुरै थाहा छैन, मरिचमान भन्छन् । ररेडियो सुनेर केही जानकारी दिएका मरिचमान भन्छन् –‘अब आफ्नै बुझाइका आधारमा मतदान गर्ने तयारीमा छु ।’
सडक सञ्जालले नछोएको उत्तरको लापा, सेर्तुङ, तिप्लिङमा हिडेर बस्तीमा जानुपर्ने हुन्छ । तीनदिन लगाएर मतदाता शिक्षा दिन त्यस ठाउँमा पुग्नुपर्ने भएका कारण पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको हो । त्यस ठाउँमा उम्मेदवारहरु भोट माग्न पनि त्यति नआउने मतदाताहरुको गुनासो छ । गाउँको विकास गर्न लागि पर्ने नेतृत्वलाई जिताउने मन भएका यहाँका नागरिकलाई नजानेर आफुले हालेको मत बदर होला कि भन्ने चिन्ता छ ।
भौगोलिक विकटता र कम समयका कारण सबैलाई मतदाता शिक्षाको बारेमा जानकारी गराउन नसकेको रुविभ्याली ३, सेर्तुङमा मतदाता शिक्षाका लागि खटिएका अनुसा घलेले बताइन् । उनी भन्छिन् –‘निर्वाचनको मिति नजिकिदै गरेको र बस्ती पनि धेरै टाढा भएका कारण मतदाता शिक्षालाई प्रभावकारी हुन नसकेको हो ।’ भनेको समयमा मतदाता नभेटिनु र भाषाको समस्याले पनि मतदातालाई मतदाता शिक्षाको बारेमा जानकारी दिन सकेको छैन । राजनैतिक दलका प्रतिनिधिहरुले पनि आआफ्नै तरिकाले मतदान गर्ने गर्ने तरिकाको बारेमा बताउदै हिडेको मतदाताहरुको भनाई छ ।
निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहदाँ मतदाता शिक्षा खासै प्रभावकारी देखिदैन । उत्तरी क्षेत्रमा मात्रै होइन सदरमुकामकै मतदाताले मतदाता शिक्षा नपाएको गुनासो गरेका छन् । ‘दलका प्रतिनिधिले तीनवटा मतपत्रमा भोट हाल्नुपर्छ भन्ने कुरा मात्र सिकाएका छन् । कसरी हाल्ने, के गरि हाल्ने थाहै छैन’ नीलकण्ठ ४ की जुना श्रेष्ठले बताइन् । हामी सुगममै भएर पनि मतदाता शिक्षाबाट बञ्चित छौँ, दुर्गमकाले के गरोस् । उनले टेलिभिजन, रेडियोबाट मतदाता शिक्षाको बारेमा थोरै भएपनि जानकारी लिएका छन् । ‘तीनवटा मतपत्र हुन्छ भन्ने चाँहि थाहा छ, छाप कहाँ कहाँ लगाउने भन्ने चाँहि थाहा छैन ।’ जुना बताउँछिन् ।
निर्वाचन आयोगले करडौँ खर्च गरेर मतदाता शिक्षाका लागि स्वंयसेवक खटाएपनि त्यसको प्रभावकारी देखिएको छैन । मतदाता शिक्षाको बारेमा जानकारी गराउन जिल्ला निर्वाचन कार्यालय धादिङले जिल्लामा २ सय ७५ जना स्वंवसेवक खटाएको जिल्ला निर्वाचन कार्यलय धादिङका निर्वाचन अधिकृत ईश्वर सिंम्खडाले बताए । राजनीतिक टकरावले पनि मतदाता शिक्षा प्रभावित बनेको छ । उम्मेदवार, राजनीतिक दल र तीनका नेता कार्यकर्ता चुनावी तयारीलाई व्यापक बनाइरहेका छन् तर भोट कसरी हाल्ने भनेर मतदातालाई नसिकाउदा अन्यौल उत्पन्न छाएको छ ।
२०७४ मंसिर ७ गते प्रकाशित