Fri. Jul 4th, 2025

‘भोटभन्दा ठूलो छोराछोरीको पेट’

सृजना लम्साल / ९ मंसिर ,धादिङ

कठ्याङग्रिदो जाडो, शरीरमा एकसरो लुगा, दायाँ हातमा हम्मर र वायाँ हातमा फाटेका चप्पललाई प्वालपारि ढुङ्गा कुटिरहेकी छन्, सरिता तामाङ । नजिकैको थोपल खोलाबाट स–साना ढुङगा झिकेर दैनिक ढुङगा कुट्दैमा बित्छ सरिताको दैनिकी । वरपर रहेका स–साना चिया पसलमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको चर्चापरिचर्चा चलिरहेको छ । सरितालाई भने न चाडवाडै आयो न चुनाव नै । बिहानबेलुकाको छाक कसरी टार्ने भन्नेमा मात्र चिन्ता छ । सरिता भन्छिन् –‘जुन नेताले जितेपनि हामीले ढुङगा कुटेर बालबच्चा पाल्नैपर्छ, एकदिन काम गरेनौँ भने बिहानबेलुका छाक टार्न धौधौ पर्छ ।’ उनी २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पपछि उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ३ दार्खाबाट सदरमुकामको दामगाडे शिविरमा बस्दै आइरहेकाका छन् ।

नेताहरु भोट माग्न शिविरमै पुगेका थिए । घर बनाइदिएर गाउँमा नै फर्काइदिने कुरा गरिरहेका छन्,–सरिताले भनिन् । स्थानीयतहको निर्वाचनमा पनि भोट माग्न नेताहरु शिविरमा नै पुगेको थिए । गाउँमा मोटबाटो पु¥याइदिने, भूकम्पले भत्काएका घर बनाइदिने, बच्चाहरुलाई पढाइदिने कुरा गरेका थिए तर अहिले ती नेताहरु कहाँ गए अत्तोपत्तो छैन । अहिलेपनि त्यस्तै त हुनेहोला । उनी काखे बच्चालाई खोलाकिनारमा सुताएर ढुङगाको चाङमा काम गर्दै भन्छिन् । ‘हामीलाई भोट भन्दा दुई छाक छोराछोरीको पेट कसरी भर्ने, शिक्षा दिने भन्नेमा चिन्ता छ ।’ भोट हालेर के हुन्छ र ? हामीले काम गर्नु नपर्ने भए पो ! अरु भोट हाल्छन् हामी यहाँ वालुवा र गिट्टी वोरामा हाल्छौँ, यहि नै हो हाम्रो निर्वाचन ’
रुवीभ्याली २ की देउमाया तामाङ पनि खोलाकिनारमा गिट्टि कुट्दै छन् । भूकम्पले भएका घर भत्काइदिएपछि सदरमुकामको शिविरमा बस्दै आएका उनी आम्दानीको बाटो नभएपछि खोलाकिनारमा गिट्टी कुर्दै छिन् । पेट पाल्न अरु साथीहरुले जस्तै उनी पनि बिहानै खोलामा आउने गर्छिन् । आँखा भरी आँशु बनाउँदै भन्छिन् ‘गाँउ जाँउ भने केहि छैन यहाँ घर बनाउ भने जग्गा छैन, वर्षै पिच्छे त्रिपाल फेर्दै बसेका छौ जागिर पाईदैन पेट पाल्नै प¥यो ।’ उनको स्वास्थ्यमा समस्या छ, पेट दुखिरहन्छ, कम्मर दुखिरहन्छ तैपनि बाध्यताले काम गर्नु परेको सुनाउँछिन् ।

उनलाई पनि चुनावको खासै रौनक छैन । उनी भन्छिन् ‘जुन जोगी आएपनि कानै चिरेका’ जसले जितेपनि हाम्रो दुख हामीमै सिमित छौँ, हाम्रो प्रभाह कसैलाई छैन ।’ स्थानीय तहको चुनावमा पनि भोट माग्न नेताहरु शिविरमै पुगेका थिए । हाम्रा समस्या पोखेका थियौ तर अहिले उस्तै छ । ‘स्थानिय तहको चुनावमा १० हजार दिन्छु भनेर गाडी नै रिजर्भ गरेर भोट हाल्न गयौ पछि चुनाव हार्यो भनेर पैसा नै दिएन कस्को विश्वासमा जानु भोट हाल्न, मत जादिनँ,’ देउमाया भन्छिन् ।
सदरमुकामका चियापसलमा हरेक दिन चुनावका निकै ठूलाठूला कुरा गर्दै पार्टीका स्थानीय नेता र समर्थकहरु गफ पिटिरहेका हुन्छन् । तर त्यहि पसल नजिकै मजदुरी गर्नेलाई भने खासै चुनाावले छोएको छैन । मजदुरको हकहितको लागि जुन नेताले वोले पनि चुनाव पछि नदेखे जस्तो गर्छन् कक्षा ११ मा पढ्दै गरेकी सीता गुरुङले भनिन् । पढाई खर्च जुटाउन नसकेर उनी बिहान कलेज पढेर आएपछि गिट्टी कुट्न थालि हाल्छिन् । उनलाई पढाई खर्च धान्न हम्मे हम्मे पर्छ । उनी नेताहरुलाई प्रश्न गर्छिन् ‘युवालाई स्वरोजगार बनाउँछु भन्दै जुन नेताले फुके पनि हामी जहाको त्यहि छौँ, भर्ना फि, महिनावारी फि, किताब, कापी किन्ने पैसा जुटाउन उनी ढुङगाको सहारा लिनु परेको छ ।’ जागिर खान गए अनुभवीलाई मात्र भन्छ, अवसर नै दिदैनन् कसरी अनुभव लिने ?

सरिता, देउमाया र सीता जस्तै भूकम्पपछि उत्तरी धादिङबाट सदरमुकामको आसपासका क्षेत्रमा शिविर बनाएर बस्दै आइरहेकालाई चुनावको रौनकले खासै छाएको छैन । उनीहरुमा बिहान, बेलुकाको छाक कसरी टार्ने भन्नेमा मात्र चिन्ता छ । खोलाछेउछाउमा बस्तीका ३०÷३५ जना जतिले दैनिक गिट्टि कुटेर गुजारा चलाउने गर्छन् । प्राय घर बनाउन प्रयोग गरिने गिट्टि लिन कुटेकै ठाउँमा गाडी लिन आउँछन् । बिहानदेखि बेलुकासम्म १० बोरासम्म कुट्ने गर्छन् । यसरी कुटेको गिट्टी बोराको एक सय २० रुपैयाका दरले बेच्ने गर्दछ । यसबाट आम्दानी भएको पैसाले नुन, तेल, चामल लगायत सामान किन्छन् र बच्चाहरुलाई पढाउने गरेका छन् ।

 २०७४ मंसिर ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: