Fri. Jul 4th, 2025

धादिङमा सिसिटिभिबाट मतपेटिकाको सुरक्षा गरिने


११ मंसिर,  धादिङ –

मतदान सकिएको धादिङको २ सय ७५ वटै मतदान केन्द्रको मतपेटिका सिसिटिभीबाट सुरक्षा गरिने भएको छ ।

सदरमुकाम धादिङबेसीमा सर्वदलिय बैठकमा १० दिनसम्म मतपेटिकाको सुरक्षाका लागि मतपेटिका राखिने ठाउँमा सिसिटिभी सहित कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी जानकारी दिए ।

सुरक्षाका लागि मतदान केन्द्र जस्तै तीन घेरामा सुरक्षाकर्मी खटाइने छ । पहिलो घेरामा जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना हुने र दुवै गठबन्धनका तर्फबाट दुई /दुई जना प्रतिनिधि राखिने बताइएको छ । मतपेटिका राखिएको कोठामा दुवै गठबन्धनका तर्फबाट एक/एक वटा ताला र स्थानीय प्रशासनको एकवटा ताला गरी तीन वटा ताला लगाइनेछ ।

२१ गते हुने दोस्रो चरणको निर्वाचन पश्चात मात्र मतगणना हुने भएपछि मतपेटिकाको सुरक्षाका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । क्षेत्र नं १ को मतपेटिका भू–संरक्षण कार्यालयको भवनमा राखिने र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको भवनमा राखिने जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।

२०७४ मंसिर ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: