Sat. Jul 5th, 2025

धादिङमा धान उत्पादनमा वृद्धि

सरिता श्रेष्ठ/६ पुस, धादिङ–

गत वर्षको तुलनामा धादिङमा धान उत्पादनमा वृद्धि भएको छ ।

मौसम अनुकुल र रोग किराको प्रभाव कम भएका कारण धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष ७ प्रतिशत धान उत्पादन वृद्धि भएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताए ।

उन्नत बीउ र सिंचाइका कारण धान उत्पादन बढेको हो देवकोटाले भने, ‘धानबालीमा लागेको रोग समयमै नियन्त्रण भएको छ, मौसम पनि प्रतिकूल भएका कारण धान उत्पादन बढेको हो ।’
जिल्लामा यस वर्ष ३० हजार २ सय ८९ मेट्रिकटन धान उतपादन भएको छ । ११ हजार ६ सय २९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।

अघिल्लो वर्ष ११ हजार ५ सय ८२ हेक्टर जमिनमा धानखेती गरिएकोमा २८ हजार १ सय ६८ मेट्रिकटन धान उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलमा २ हजार १ सय २१ मेट्रिकटन बढी हो ।

किसानले आधुनिक खेतीतर्फको बढ्दो आकर्षणसँगै परम्परागत खेती छाडेर व्यावसायिक रूपमा हाइव्रिड धानखेती सुरु गरेका छन् । कार्यालयले पनि किसानको माग र आवश्यकतालाई मध्यनजर गर्दै उन्नत जातका बीउ वितरण तथा प्रोत्साहनका कार्य गर्दै आइरहेको छ । हाइब्रिड धानको उत्पादन दोब्बर वृद्धि भएको पाइएको छ ।

जिल्लाको सेमजोङ, कटुञ्जे र नीलकण्ठमा कात्तिकमा आएको असिनाले बाली नष्ट गरेपनि अन्य ठाउँहरुमा भने सोचेभन्दा बढी धान फलेको जिल्ला कृषि विकास कार्यालय धादिङका प्राविधिक सहायक थलबहादुर बस्नेतले बताए । असिनाले त्यस क्षेत्रको ९० प्रतिशत बाली नष्ट गरेको छ । कृषकहरू उन्नत जातको बीउलाई प्राथमिकता दिनु तथा मौसम पनि अनुकूल भएकाले उत्पादनमा वृद्धि भएको बस्नेतले बताए ।

बृहत्तर चैते धान उत्पादन लागु गरिएको क्षेत्रमा उत्पादन बढी भएको कार्यालयले जानकारी दिएको छ । नीलकण्ठको ढोडेनी, सुनौलाबजार, मुलपानी लगायतका क्षेत्रमा धान उत्पादन बढी भएको छ । कार्यालयले विभिन्न किसिमका बीउ तथा कृषि सामग्रीहरु पनि प्रदान गरिएको थियो । धादिङमा मकवानपुरे, हाइब्रिड, सावित्रि, शंकर, युएस जातका धानको बीउ लगाइने गरेका छन् ।

यस वर्ष २ हजार ५ सय १७ हे क्षेत्रफलमा चैते धान लगाएकोमा त्यसबाट ९ हजार ५ सय ३५ मेट्रिकटन धान उत्पादन भएको छ । भने ९ हजार १ सय २ हे. क्षेत्रफलमा लगाइएको बर्खे धान २२ हजार १३ मे. उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । जिल्लामा कुल ४८ हजार १ सय ३६ हे. खेतीयोग्य जमिन रहेकोमा ३५ हजार १ सय ५० हेक्टरमा खेती गरिएको कार्यालयले जानकारी दिएको छ ।

किसानले लगाएको बालीलाई कार्यालयले बीमाको पनि व्यवस्था गरेको छ । बीमाबाट लागतको नभई उत्पादनको आधारमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । कार्यालयले जिल्लालाई धान खेतीमा आत्मनिर्भर बनाउनका लागि अभियान पनि संचालन गरेको छ । गत वर्ष रोग किराबाट धानीबाली उत्पादन नभएपछि किसानलाई धानबालीको क्षतिपूर्ति पनि प्रदान गरिएको थियो ।

२०७४ पुस ६ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: