
Philippines Storm
१० पुस, फिलिपिन्स –
फिलिपिन्समा भएका दुईओटा ठूला घटनामा परी तीन दिनमा कम्तीमा २३७ जनाको मृत्यु भएको छ।
शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरूको संख्या अहिलेसम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ।
शनिबार बिहान भएको आगलागीमा परी हराइरहेकामध्ये उनीहरूको मृत्यु भएको हुन सक्ने अधिकारीहरूले बताएका छन्। अग्नि नियन्त्रक र उद्धारकर्ताले झण्डै १६ घण्टासम्मको लगातारको प्रयासपछि आइतबार बिहान मात्र आगो नियन्त्रणमा लिन सफल भएका छन्।
राष्ट्रपति रोड्रिगो डुतेर्तेले आगलागीमा परी ज्यान गुमाएकाका आफन्तलाई सहानुभूति व्यक्त गरेका छन्। उनले उक्त दुर्घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई धैर्यधारण गर्न आग्रह गरे। पीडितका परिवारलाई सरकारले सहयोग गर्ने घोषणा पनि उनले गरे। घटनास्थलमा परेका व्यक्ति जीवितै हुने सम्भावना शून्य रहेको छ।
क्याथोलिक विसप कन्फेरेन्सका अर्चबिसप रोमुलो भालिजलाई उद्धृत गर्दै राष्ट्रपति डुतेर्तेले हराएकाको जीवितै रहने सम्भावना नरहेको बताए। आफन्त गुमाएकालाई उनले नजिकैको एउटा रेस्टुरेन्टमा भेटेका थिए।
२०७४ पुस १० गते प्रकाशित