Sat. Jul 5th, 2025

बैदेशिक रोजगारको क्रममा ठगीएका सिद्धलेकका कुशललाई गाउँबासीको साथ

१० पुस, धादिङ–

बैदेशिक रोजगारको क्रममा ११ लाख ठगीएका धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का कुशल आलेमगरलाई स्थानीयले साथ दिएका छन् ।

दक्षिण अफ्रिका पठाईदिन्छु भन्दै गाउँकै छिमेकी लक्ष्मण पन्तले पिडित कुशल आलेमगर सँग ११ लाख रुपैया असुली गरेका थिए । भएको जायजेथा बेचेर दलाललाई पैसा बुझाएपछि उनी सुकम्बासी बनेका थिए ।

राम्रो कमाई हुने आसामा भएको १ रोपनी खेत बेचेर आएको पैसा छिमेकी लक्ष्मण पन्तलाई बुझाएका थिए । पन्तले शुरुमा टर्कीको बिजनेश सेल्स व्वाईको रुपमा पठाइदिने बताएका थिए । तर पछि टर्कीमा समस्या छ भनेर फेरी दक्षिण अफ्रिका पठाइदिन्छु भनेको कुशल सम्झन्छन् ।

गाउँकै छिमेकी भएकाले कुशलले पन्तको कुरा विश्वास पनि गरे । दक्षिण अफ्रिका पुग्ने सपना देखेका कुशल पाँच महिनासम्म भारतका विभिन्न ठाउँमा अलपत्र पर्दै अन्तत नेपाल फर्किए भने लक्ष्मण पन्त पनि सम्पर्क विहिन बने । आफ्नो नाममा रहेको एक रोपनी खेत बेचेर दक्षिण अफ्रिकाको सपना देखेका कुशलको अहिले यतिखेर सुकुम्बासी बनेका छन् । अहिले उनी आमाको साथमा सार्वजनिक जग्गामा टहरा हालेर बसोबास गर्दे आइरहेका छन् । कुशल फर्केर आएदेखिनै लक्ष्मण पन्त फरार छन् भने उनका बुबा हरी पन्तसँग पटक पटक यस विषयमा कुराकानी भएपनि उनले अटेर गरेका गाउँबासी बताउछन् ।

सिद्धलेक गाउँपालिका वडा नम्वर ६ को नेपालटारमा भएको छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा, स्थानीय समाजसेवी पुष्प थपलिया लगायत गाउँबासीले कुशललाई न्याय दिलाएरै छाड्ने प्रतिबद्धता जनाए । छलफलका क्रममा गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले सोझा सिधा मानिसलाई ठग्ने दिन समाप्त भएको भन्दै अव कसैले पनि अन्यायमा बस्नु नपर्ने बताए ।

यसैविच आइतवार भएको छलफल पछि कुशललाई लक्ष्मणका बुवा हरी पन्तको जग्गामा खेती गरेर खान गाउँवासीले सल्लाह दिएका छन् । आफ्नो जग्गा जमिन नभएपछि समस्यामा परेका कुशललाई कि त पैसा फिर्ता गर्न नभए उसको जग्गा दिन पनि पिडक लक्ष्मणका बुवा हरी पन्तलाई गाँउबासीले दबाब दिन शुरु गरेको स्थानीय समाजसेवी पुष्प थपलियाले बताए । “अव नेपालटारमा हरी पन्तको नाममा रहेको ४ रोपनी जग्गामा कुशलले खेती गर्नेछन्” थपलियाले बताए । कुशल आले मगरको समसमा चन्द्रज्योती एकिकृत ग्रमिण विकास समाज सिड्स धादिङ द्वारा सन्चालित सुक्षित आप्रवास सामी परियोजनाले आवश्यक प्रक्रियामा सहयोग गरिरहेको छ ।

 

२०७४ पुस १० गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: