
११ पुस , काठमाडौँ
सशस्त्र प्रहरीको हलचोकस्थित मुख्यालयमा गत सोमबार राति भएको आगलागीमा सशस्त्र प्रहरीकै हवल्दार रामकृष्ण श्रेष्ठको संलग्नता रहेको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा देखिएपछि उनलाई काठमाडौं परिसरले पक्राउ गरेको छ ।
सोही विषयमा अनुसन्धान गर्न गृह र सशस्त्र दुवैले छुट्टा(छुट्टै छानबिन समिति बनाएका थिए भने आगलागीपछि मंगलबार नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेर मुचुल्का तयार पारेको थियो। टोलीले आगलागी भएको कोठाबाट बिजुलीको तार र पावर सकेट परीक्षणका लागि भन्दै ल्याएको थियो।
सशस्त्रको खेल मैदानसँगै रहेको प्याराफिट भवनमा रहेको कोठामा राति करिब १ बजेतिर लागेको आगो दुइटा दमकलको सहायताले राति नै निभाइएको थियो। सशस्त्रले कागजात, पुराना कम्प्युटर र लेखा शाखाका केही सामग्री रहेको कोठामा लागेको आगो शंकास्पद भन्दै प्रशासन विभागका एआईजी प्रेम शाहीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो। यस्तै गृहमन्त्रालयले पनि सहसचिव कृष्ण राउतको संयोजकत्वमा नेपाल प्रहरीका डिआईजी गणेश केसी सदस्य रहेको छानबिन समिति बनाएको थियो।
सशस्त्रका प्रवक्ता बाबुराम पाण्डेका अनुसार आगलागीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो। प्रारम्भिक अध्ययनमा स्टोरभित्र रहेको फ्रिज खुला अवस्थामा रहेको र त्यसैबाट बिजुली सट भएर आगो लागेको आशंका गरिएको थियो। लेखासम्बन्धी केही महत्त्वपूर्ण कागजात पनि जलेको आशंका सशस्त्रकै एक उच्च अधिकारीले गरेका थिए।
२०७४ पुस ११ गते प्रकाशित