
१३ पुस, चितवन –
नारायणगढ–मुग्लिन सडकखण्डमा यही पुस १८ गतेदेखि राति बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेको सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म गाडी रोकेर काम गरिने भएको हो । काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय भरतपुरमा बुधबार सम्पन्न सरोकारवालाहरुको बैठकले राति पाँच घण्टा र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव, सुरक्षा निकायका प्रमुख, ठेकेदार कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।
बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउनलगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी गाडी सञ्चालन गरेर कालोपत्र गर्ने कामलाई अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई आवागमन प्रभावकारी बनाउने, सवारी रोकिएको समयमा कामलाई तीव्रता दिने र रातिको समयका काम गर्न विद्युत प्राधिकरणसँग समन्वय गरी उज्यालोको व्यवस्था गर्ने निर्णय गरेको छ ।
२०७४ पुस १३ गते प्रकाशित