
१५ पुस, धादिङ –
धादिङको गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा भएको ग्याँस बिस्फोटनको घरधनीलाई सहयोग गरिएको छ । सवारी चालक समाज, धादिङले शनिबार नगद बीस हजार रुपैयाँ घरधनी बाबुराम तिमल्सिनालाई सहयोग प्रदान गरेको हो ।
सवारी चालक समाजको पश्चिम क्षेत्रीय कार्यालय, बैरेनी, धादिङमा आयोजित कार्यक्रममा सवारी चालक समाजका अध्यक्ष नारायण पन्तले पीडितलाई सहयोग प्रदान गरेको हो । घरधनी बाबुराम तिमल्सिना पनि सवारी चालक भएकाले उनलाई सान्त्वना स्वरुप सो रकम प्रदान गरिएको अध्यक्ष पन्तले बताए । कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रमुख कृष्ण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
गत पुस ७ गते बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्याँसको सिलिण्डर विस्फोटबाट घर जलेको थियो ।
ग्याँस उद्योगले बजारमा ल्याएको सिलिण्डर घरमा लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन तिमल्सिनाले माग गरेका थिए। घर बाहिर भएका बेला विस्फोट भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा साबै सामग्री नष्ट भएको थियो। सो घटना लगतै वडा कार्यालयले गाउँमा लगिएका सबै ग्याँस सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ता गर्नका लागि आह्वान गरेको थियो ।
२०७४ पुस १५ गते प्रकाशित