
१६ पुस, धादिङ –
आज पुस १६ अर्थात् ४२ औं राष्ट्रिय मेलमिलाप दिवस । जननायक बीपी कोइरालाले भारतबाट आठ वर्षे निर्वासित जीवन बिताएर राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएका थिए । आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वा्चित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले स्वतन्त्र राज्य सिक्किमलाई भारतमा गाभिसकेर अन्य छिमेकी मुलुकहरुप्रति पनि गिद्धे दृष्टि राख्न थालेको सुइँको पाउँने वित्तिकै विपी स्वदेश फर्किएका थिए ।
नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री तथा प्रजातन्त्रकालागि कठिन राजनीतिक संर्घष गर्नु भएका विपी कोईरालाले प्रादुर्भाव गर्नु भएको राजनीतिक मेलमिलापको सान्दर्भिकता अझै पनि उत्तिकै बलियो बन्दै गएको धेरैको अनुभव छ । राजनीतिक धु्रविकरण चरम रुपमा चुलिएको वर्तमान अवस्थामा विपीको मेलमिलापको नीति झनै व्यावहारिक र द्धन्द्ध समाधान गर्ने सुत्र बन्न सक्ने चर्चा गर्न थालिएको छ । विपीको त्यो मेलमिलाप नीति राष्ट्रियता, एकता, प्रजातन्त्र र मुलुकको सबल सार्वभौमिकताको लागि थियो ।
२०७४ पुस १६ गते प्रकाशित