
१८ पुस, चितवन
नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ ।
सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको बताइएको छ । ट्राफिक प्रहरी कार्यालयले आज सूचना जारी गरी सो मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सडक बन्द हुने समय मिलाई आवतजावत गर्न आग्रह गरेको छ ।
सूचनामा काठमाडौँबाट छुट्ने बस र साना सवारीलाई राति १० बजेभित्र मुग्लिन बजार पार गर्ने गरी आउन भनिएको तथा मुग्लिनतर्फ जाने सवारीलाई बिहान ३ बजे रामनगर पार गर्ने गरी समय व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
२०७४ पुस १८ गते प्रकाशित