Fri. Jul 4th, 2025

धादिङको पुनर्निर्माणमा महिला डकर्मी


सरिता श्रेष्ठ / २० पुस,  धादिङ –

टाउकोमा हेल्मेट, हातमा पन्जा, खुट्टामा गमबुट । सिमेन्ट बालुवाको मसला माथि इट्टाको गारो लगाइरहेकी छन् धनमाया घले । दक्षिणी धादिङको बेनिघाट गाउँपालिका वडा नं ६ स्यादुलकी धनमाया पुरुष सरह नै घर बनाउने काममा दैनिकी खर्चिन्छन् । उनी पुरुष डकर्मी झैं घर निर्माणमा खटिएकी बताउँछिन् । घर बनाउने काममा पुरुष सरह नै ज्याला पाउँछु धनमायाले भने, ‘दिनको नौ सय रुपैया कमाउँछु ।’

कामधन्दा र बस्तुभाउ स्याहारेर बित्ने दिनहरु अहिले ज्याला मजदुरी गरेर बित्ने गर्छ, धनमायाले थपे । सुरु सुरुमा गाउँलेले गिज्जाउने हो कि भनेर डर लाग्थ्यो । पहिले कतै घर लगायत भौतिक संरचना निर्माण हुँदा उनी ढुंगा–माटो बोक्ने र पानी ओसार्ने जस्ता काम गरेर पुरुष डकर्मीलाई सघाउँथिन् । त्यस्तो कामबाट उनले घर बनाउने तौरतरिका सिक्दै गइन् । अहिले घरको आफै ठेक्का लिएर सम्पूर्ण काम गर्छिन् ।

उमेरले ४२ वर्ष लागिन् धनमाया । उस्तै जोश जाँगर छ अहिले पनि उनमा । पढेका छैनन तैपनि पढे लेखेका भन्दा कम छैनन् उनी । दैनिकि नै फेरिएको बताउँछिन् । महिलाले पुरुषहरूसँग काम गर्नुहुँदैन भन्ने सोचलाई धनमायाले बदलिदिएको छ । अहिले त्यो सोचमा बिस्तारै परिवर्तन हुँदै गएको छ । तर, अझै पनि महिलालाई तिमी घर बनाउने जिम्मा लिन सक्छ्यौ ? भनेजस्ता प्रश्नहरू आइरहन्छन् । तर, उनीहरूले पुरुषले भन्दा राम्रा र बलिया घर ठड्याइदिएपछि समाजमा महिलाप्रति विश्वास बढ्दै गएको छ । कमाउने जिम्मा पुरुषको ठान्नेहरुलाई धनमाया उदारणीय पात्र बनेकी छन् । धुलो, चिसोसँग खेल्न अभ्यस्त हुँदै आएकी छन् ।

घरको योजना बनाउनेदेखि घरको गारो लगाउने कामसम्म उनले अरुलाई सोध्नुपर्दैन । उनी विभिन्न आकार निकालेर घर बनाउने गर्छिन् । भूकम्प गएपछि प्रयास नेपालले गाउँमा डकर्मी तालिम संचालन गरेको थियो । तालिम लिएपछि प्राविधिक सीप पाएर आत्मविश्वास बढेको उनको भनाइ छ । अरुलाई डकर्मी तालिम पनि सिकाउँछिन् । आफूले जानेको काम अरुलाई सिकाउँदा आफूमा आत्मविश्वास बढेको धनमाया बताउँछिन् । डकर्मीको कमाइले परिवारको भरणपोषण पनि सहज भएको उनको भनाई छ ।

उत्तरी धादिङको खनियाबास गाउँपालिका दार्खाकी शान्ति तामाङ पनि दैनिक घर बनाउने काममा व्यस्त हुन्छिन् । भत्किएका घर बनाउन कामदार खोज्दै भौंतारिनुभन्दा आफै सीप सिक्दा सजिलो हुने शान्ति बताउँछिन् । भूकम्पमा उनी आफैँ घाईते भएकी थिइन् । घाइते भएर पनि घर निर्माणमा संलग्न हुन थालेपछि उनी अन्य महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन् । समाजमा महिला भएकै कारण हेपिएका र पछाडी परेको नजिर पस्कदै आफै शसक्त हुन महिलालाई उनी अनुरोध गर्छिन् ।

केही महिना अगाडिसम्म धादिङको नीलकण्ठ नगरपालिका वडा नं २ भुलभुलेकी सिर्जना गुरुङ ज्याला मजदुरी गरेर गुजारा चलाउँथिन् । घर बनाउने काममा पुरुष डकर्मीहरुलाई सघाउँथिन् र बढीमा २ सय रुपैयाँसम्म ज्याला पाउँथिन् । वैदेशिक रोजगारीमा गएका उनका श्रीमान् पनि फर्किएर डकर्मी काममा लाग्न थाले । अहिले श्रीमान श्रीमती दुवै जना डकर्मी काम गर्छन् । घरको एक जनाले मात्रै काम गरेर परिवार पाल्नुपर्दा हम्मेहम्मे परेको थियो सिर्जनाले भनिन्, ‘दुवै जनाको कमाइले परिवारको जीविकोपार्जनमा सहज हुन थालेको छ ।’

तुलनात्मक रुपमा पुननिर्माण कार्य सुस्त गतिमा सञ्चालन भइरहेको छ । पुनर्निर्माणको अभियानमा महिलाहरुको सहभागिताले पनि पाँच वर्षे यो अभियानको गति बढाउन मद्दत गर्ने देखिएको छ । वैदेशिक रोजगारी र शहर केन्द्रित प्रवृत्तिका कारण गाउँमा पुरुष डकर्मीहरु भेट्न समस्या परिरहेको अहिलेको अवस्थामा महिलाहरु डकर्मीको रुपमा सक्रिय हुँदा भूकम्पले ढलेका संरचनालाई समयमै उठाउन ठूलो योगदान हुने अपेक्षा गरिएको छ । अहिले धेरै महिला डकर्मी तालिम सिक्दै छन् । महिला–पुरुष भनेर होइन कामको दक्षताले उसको हैसियत निर्धारण हुन थालेको उनीहरु स्वंय नै बताउँछन् । भूकम्पका कारण ढलेका घरहरुलाई उठाउन सुरक्षित पुनर्निर्माणको अभियानमा डकर्मीको रुपमा उदाएका महिलाहरु थुप्रै छन् ।

२०७४ पुस २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: