

२२ पुस, धादिङ –
स्थानीय तह सञ्चालन कार्यविधि तथा विपद जोखिम न्यूनिकरण विषयक कार्यशाला गोष्ठि धादिङको बैरेनीमा सुरु भएको छ ।
कार्यशालामा धादिङ जिल्लाका २ वटै नगरपालिकाका मेयर, उपमेयर र ११ वटै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र कार्यकारी अधिकृतहरुको सहभागिता रहेको छ । जिल्ला समन्वय समिति धादिङ तथा जिल्ला विपद व्यवस्थापन समितिको आयोजना र केयर, अक्सफाम, जिआईजेड, सहयात्री समाज, ग्रामीण आपसी विकासको सहकार्यमा कार्यशाला सुुरु भएको हो ।
यसैबीच शुक्रबार विहान एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यशालाको उद्घाटन प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद भूमि प्रसाद त्रिपाठीले गरेका थिए ।
कार्यक्रममा प्रदेश सभाका सांसाद शालिकराम जम्कटेल, प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी, नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगाना, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापा, बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले शुभकामना मन्तव्य राखेका थिए ।
३ दिनसम्म सञ्चालन हुने कार्यशालामा स्थानीय तह सञ्चालनको कार्यविधिको खाका तय गर्ने र स्थानीय तह सञ्चालन कार्यविधिका विविध विषयमा छलफल हुनेछ । यसैगरी कार्यशालामा विपद जोखिम न्यूनिकरण गर्ने सवालमा पनि स्थानीय तहको भूमिका र जिम्मेवारीका विषयमा छलफल गरिने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका सुचना अधिकृत भोला प्रसाद गौतमले जानकारी दिए ।
२०७४ पुस २२ गते प्रकाशित