Fri. Jul 4th, 2025

भूकम्पपीडितको व्यथा : चिसोले सकस, अझै टहरा फेरिएन

फाईल फोटो


सरिता श्रेष्ठ / २७ पुस,  धादिङ –

साढे दुई वर्ष बित्यो । भूकम्प पीडितका टहरा अझै फेरिएन । फेरी पनि कठ्याङिग्रदो जाडोको सकज दोहो¥याउनु परेको छ । जेठ असारको चर्को घाम र पानीलाई सहेर जसोतसो जीविकोपार्जन गरेका पीडितहरु जाडो लागेसँगै कसरी ज्यान जोगाउने भन्ने चिन्तामा छन् । सदरमुकाम नजिकैको दामगाडे शिविरमा बस्दै आइरहेका लापाका टेक बहादुर तामाङले चिसोले टहरामा रात गुजार्नै हम्मे परेको बताउँछन् । चिसो बढेसँगै रात अनिदोमै बित्न थालेको छ टेकबहादुरले भने, ‘बिहान बेलुका नै चिसो आउने र राति शीत चुहिने भएपछि कहिले उज्यालो होला र घाम तापौँला भनेर अनिदोमै रात बिताउने गरेका छौँ ।’

चिसो सुरु भए लगत्तै बालबालिकाहरुमा रुघाखोकी लाग्ने निमोनिया हुने समस्या देखिएको छ । चिसो ठाँउमा आफू जोगिने कि बालबच्चाहरुलाई जोगाउने ? अस्थायी टहरामा बस्दै आइरहेकी ओममाया तामाङ भन्छिन् अझै सुत्केरी भएका महिला तथा वृद्धवृद्धाहरुलाई पिरोलेको छ । भूकम्पपछि धादिङको उत्तरी क्षेत्र लापा तिप्लिङ सेर्तुङ र झार्लाङ लगायतका ठाउँबाट सदरमुकाम आसपासका क्षेत्रमा अस्थायी टहरा बनाएर बसेका भूकम्प पीडीतहरु अझै गाउँ फर्किएका छैनन् । टहरामा घाम लाग्दैन, चिसोमा बस्न सकिँदैन ।’ ओममायाले भनिन्, ‘टहरामा चिसोले मरिन्छजस्तो छ, कहिले न्यानो घरमा बस्न पाइएला ?’

‘पोहोरको जाडो त जेनतेन वित्यो, यो वर्ष कटाउन मुस्किल होला जस्तो छ’ तिप्लिङका फे घले भन्छन, ‘यस्तै ताल हो भने त गाउँका बुढापाका र बालबच्चा जोगाउन गाहे हुन्छ ।’ बिहान भएपछि पनि चिसोले गर्दा न निदाउन सक्छन् न त उठेर काम गर्न सक्छन् । अघिल्लो वर्ष टहरामा कष्टका साथ जाडो कटाएका उत्तरी धादिङका भुकम्प पीडित यस वर्ष पनि उहि टहरामा कठ्याग्रिदो रात विताउन बाध्य भएका हुन् । झण्डै साढे दुई वर्ष अघि राहतको जस्ता र त्रिपाल मिलाएर निर्माण गरिएका अधिकांश टहरा थोत्रा भइसकेका छन् । एउटै टहरामा मान्छे त्यहि सुत्छन्, अन्नपात र सरसामान त्यहि हुन्छ । बृद्धबृद्धा र बालबालिकाहरु चिसोका कारण विरामी पर्न थालेका छन् ।

सल्यानटारका कृष्णबहादुर दराईलाई पनि चिसो बढे पनि टिनको टहरामा रात गुजार्नुपर्ने बाध्यता छ । दिनभर घाम तापेर बस्ने गरेका उनी रात परेपछि पराल ओढेर चिसो छल्ने प्रयास गर्छन् । भूकम्पले घर भत्काएपछि सरकारले घर बनाउन दिएको ५० हजार रुपैया रकम पनि लिइसकेका छन् । तर निर्माण सामग्री महङगो भएको र घर बनाउन कामदार नपाएका कारण टहरामा नै दिन बिताइरहेका छन् । चिसो आउनु अगावै न्यानो घरमा बसेर जाडो कटाउनु कृष्णबहादुरको सपना वालुवामा पानी मिसिएको जस्तै भएको छ ।

भूकम्पले घर भत्किएर वा जमिन चिरा परेर गाउँमा बस्न नसक्ने भएपछि सदरमुकाम आसपास शिविरमा बस्दै आएका भुकम्प पीडित चिसोका कारण थप समस्यामा परेका छन् । भूकम्पपछि तिप्लिङ, सेर्तुङ, लापा, रि गाविसका विभिन्न वडाबाट झरेका पीडितहरुले सदरमुकाम आसपासमा बस्ती बसाएका छन् । चिसोले उनीहरु बाहिर निस्कन समेत समस्या भएको छ । जिल्लाको उत्तरी क्षेत्रबाट झरेका पीडितहरु निलकण्ठको दामगाडे, ज्वालामुखीको ढोला तथा त्रिपूरासुन्दरीको सल्यानटार लगायतका स्थानमा बस्दै आएका छन् । शिविरमा बस्दै आएका सबैको अवस्था चिसोका कारण कष्टकर बनेको छ । भूकम्प प्रभावित जिल्लाका भूकम्पपीडितका विषयमा सरकार गम्भीर नबन्दा उनीहरू तेस्रो हिउँद पनि टहरामै काटिरहेका छन् ।

२०७४ पुस २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: