

सरिता श्रेष्ठ / ५ माघ, धादिङ –
वडा कार्यलय पुगेका ज्वालामुखीका कर्णबहादुर श्रेष्ठ र श्रीमाया श्रेष्ठको जोडीले अनलाइनबाट विवाह दर्ता गराए । बिना झण्झट सहज तरिकाले काम भएकोमा श्रेष्ठ दम्पतिको खुसीको सिमै भएन । आफ्नो गाउँमा सजिलै तरिकाबाट काम भएकोमा खुसी साट्दै परिवर्तनको अनुभूति भएको बताए । धादिङको ज्वालामूखी गाउँपालिकाले आफ्ना सबै काम कम्प्युटर प्रविधिबाट सुरु गरेपछि सेवाग्राहीलाई काममा सहज भएको छ । कम्प्युटर प्रविधिले हाम्रो विवाह दर्ता गर्न सजिलो भयो कर्णबहादुरले भने, कम्यूटर प्रविधिबाट झन्झटिलो काम सजिलै भयो ।’
श्रेष्ठ दम्पत्ति जस्तै गाउँपालिकामा सेवा लिन आउनेहरु छिटो छरितो काम भएकोमा खुसी छन् । कार्यालयले जन्मदर्तालाई प्रभावकारी बनाउन स्वास्थ्य चौकीबाट जन्म प्रतिवेदन बनाउने व्यवस्था समेत मिलाएको छ । ज्वालामुखीमा रहेको सालबास स्वास्थ्य चौकीबाट जन्म प्रतिवेदन बनाएर वडामा जन्मदर्ता बनाउन सजिलो हुने गाउँपालिकाले जनाएको छ । सालबास स्वास्थ्य चौकीमा प्रसुति गराई छोरा जन्माएका रमेश आले र सोफिय आलेले पनि स्वास्थ्य चौकीबाट जन्म प्रतिवेदन बनाएर कम्प्यूटर प्रविधिबाट वडाबाट जन्मदर्ता गराइसकेका छन् । स्वास्थ्य चौकीले प्रतिवेदन दिएपछि वडाले जन्मदर्ता दिने गरेको स्वास्थ्चौकीका इन्चार्ज भरत गुरुङले बताए । स्वास्थ्यचौकीबाट यस्तो सेवा पहिलो पटक प्रदान गरिएको हो ।
गाउँपालिकाले बिल बाहेकका सबै काम कम्प्युटर र अनलाईन प्रविधिको माध्यमबाट हुन थालेको गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिनाले बताए । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहज बनाउन कम्प्यूटर प्रविधि सुरु गरेका हौँ तिमल्सिनाले भने, ‘जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता लगायतका सेवा लिन अब छिटो र सजिलो भएको छ ।’ जनतालाई गाउँपालिकासम्म आउनै नपर्ने गरी वडावडाबाट सरल रुपबाट काम कारवाही हुने व्यवस्था मिलाउन प्रयास गरिएको छ । सेवाग्राहीहरुलाई कसरी सन्तुष्टि दिन सकिन्छ भन्नेमा आफूहरु निरन्तर खटिने अध्यक्ष तिमल्सिनाले बताए ।
गाउँपालिकामा रहेका सात वटै वडामा इन्टरनेटको सेवा पुगिसकेको छ । सबै वडामा इन्टरनेट पुगिसकेपछि अनलाइन सेवा सुरु गरिएको हो । तिमल्सिनाले भने, ‘ज्वालामुखी गाउँपालिका अब जिल्लाका अरु स्थानीय तह भन्दा फरक र व्यवस्थित हुनेछ ।’ पहिलेको तुलनामा गाउँपालिकाको काम छिटो छरितो भएकाले सेवाग्राही सन्तुष्ट भएको गाउँपालिकाले बताएको छ । प्रविधि इन्जिनियरको पदपूर्तिपछि कलमबाट हुने कामलाई पूरै रोक्ने तयारी रहेको बताए ।
स्थानीय निर्वाचनबाट निर्वाचित प्रतिनिधि आएपछि दर्ताका काम जति सबै अनलाईन प्रविधिबाट सुरु गरिएको गाउँ पालिकाका कार्यकारी अधिकृत बद्रिनाथ लम्सालले जानकारी दिए । लम्सालका अनुसार स्थानीय मन्त्रालयको समन्वयमा केही समयमा विलिङको काम पनि कम्प्युटरबाट नै गर्ने तयारी रहेको छ । गाउँपालिकामा उपलब्ध कर्मचारीहरुको संख्याको कमी कारण अझै सोचे अनुरुप काम गर्न नसकेको बताए ।
कम्प्युटर र अनलाईन प्रविधिबाट काम गर्दा निकै सहज भएको गाउँपालिकाका कर्मचारी राजेन्द्र मास्कीले बताए । मास्कीका अनुसार यस अनलाइनबाट दर्ता सुरु गरेपछि ७ सय ५८ वटा जन्मदर्ता, १ सय २६ मृत्यु दर्ता, २ सय ८ विवाह दर्ता र ७९ वटा बसाइ सराईसम्बन्धी दर्ता भएको छ । गाउँपालिकाको सातैवटा वडामा भएका कामको गतिविधि गाउँपालिका केन्द्रबाट चेकजाँचको व्यवस्था गरिएको छ मास्कीले भने, ‘यस्तो प्रविधिले कर्मचारीको अनियमितता तथा ढिलासुस्ती भएको गुनासोलाई हल गरेको छ ।’
२०७४ माघ ५ गते प्रकाशित