Sat. Jul 27th, 2024

बाराको डुमरवानामा दोस्रो विमानस्थल बन्ने

SIA-Nijgadh-3

काठमाडौं –  मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विभिन्न कारणले अवरुद्ध हुन थालेपछि बल्ल बाराको डुमरवानामा दोस्रो विमानस्थल निर्माणबारे काठमाडौंमा चर्चा बढेको छ ।

जबकि १७ वर्ष अगाडि नै बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल निर्माणको प्रारम्भिक अध्ययन भएको थियो । तर, अहिलेसम्म विमानस्थल निर्माणको प्रकृया सुरु हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)मा टर्किस एयरको जहाज दुर्घटनाग्रस्त हुँदा दिनसम्म अन्तर्राष्ट्रिय उडान(अवतरण ठप्प भएपछि प्रधानमन्त्री सुशील कोइरालाले निजगढ विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् ।

मेगा प्रोजेक्टका रुपमा रहेको निजगढ विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । तर, सरकारले निजी क्षेत्रको लगानी र बुट ढाँचामा परियोजना निर्माण गर्ने तयारी गरेपनि अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेको छैन ।

कहाँनेर बन्छ विमानस्थल ?
परियोजना ८० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिने बताइए पनि अहिलेसम्म चार किल्ला तय भइसकेको छैन । यद्यपि बाराको डुमरवाना क्षेत्रमा मानव वस्ती उठाएर र जंगलको केही भाग मासेर विमानस्थल बनाउने तयारी छ ।

गत हप्तामात्र मन्त्रिपरिषदले चार किल्ला गाडेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र घोषणा गर्न स्वीकृति दिएपछि काम अगाडि बढाउन पर्यटन मन्त्रालय तातेको छ ।

कोरियन कम्पनी ल्यान्डमाइन्ट वल्र्डवाइड (एलएमडब्लु) २०६७ चैत २७ गते सरकारलाई सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा विमानस्थल चार चरणमा निर्माण हुने र निर्माण कार्य पुरै सम्पन्न गर्न ४० वर्ष लाग्ने उल्लेख गरिएको छ ।

तीन चरणमा १४ वर्ष लाग्ने
विमानस्थलको सम्भाव्यता अध्ययन गरेको एलएमडब्लु कम्पनीकोे प्रतिवेदनमा पहिलो चरणको काम ४ वर्षमा सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

पहिलो चरणको काम सम्पन्न गर्न ६५ अर्ब रुपैयाँ लाग्ने छ । यस अवधिमा वाषिर्क करिव एक करोड ५० लाख यात्रुलाई सेवा दिन सकिन्छ ।पाँच वर्षको अवधि रहने दोस्रो चरणको काम सम्पन्न गर्न ७८ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।तेस्रो चरणको काम सम्पन्न गर्न पनि ५ वर्ष लाग्ने प्रतिवेदनमा उल्लेख छ । यो काम सम्पन्न गर्न ८८ अर्ब लाग्ने छ ।

परियोजनाको पुरै काम सम्पन्न गर्दा ६ खर्ब ७० अर्ब रुपैयाँ लागनी हुने प्रतिवेदनमा उल्लेख छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा विमानस्थलको प्रारम्भिक काम अगाडि बढाउन ५० करोड रुपैयाँ विनियोजन गरेको छ । गत हप्ता मन्त्रिपरिषदबाट चार किल्ला छुट्टाउन स्वीकृति पाएपछि मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रारम्भिक काम गर्नका लागि अगाडि सारेको छ ।

‘हामीले ५० करोड रुपैयाँ प्राधिकरणमा रकमान्तर गर्नका लागि अर्थमन्त्रालयमा पत्राचार गरेका छौं’ प्रवक्ता सापकोटाले भने- ‘हामीसँग प्राविधिक जनशक्ती नभएको हुँदा प्राधिकरणमार्फत परियोजनाको काम अगाडि बढाउँछौ ।’

परियोजनाले ८० बर्गकिलोमिटर क्षेत्रफल ओगट्छ । जसमध्ये ४० वर्गकिलोमिटर क्षेत्रफलमा विमानस्थल निर्माण गरिने छ भने ४० वर्गकिलोमिटर क्षेत्रफलमा हवाई शहर निर्माण गरिने छ ।
प्राधिकरणले ५० करोड रुपैयाँ परियोजनको कार्यालय स्थापना गर्न, निजी स्वामित्वमा रहेको करिव ८४ विगाहा जमिन खरिद गर्न, चार किल्ला छुट्टाउन खर्च गर्ने छ । अनलाइन खबरबाट

About The Author

Loading...

अन्य समाचारहरु: