
१९ माघ, धादिङ
भुकम्प गएको तिन वर्ष लाग्न लाग्दा समेत धादिङमा भुकम्पका कारण ध्वस्त भएका प्रहरी चौकीका भवनहरु निर्माण हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय धादिङको मातहतमा रहेका ३३ वटा प्रहरी चौकी मध्ये अधिकांसको भवन नहुदा टेन्टबाटै दैनिक कार्य सम्पादन गरिरहेका छन् । जस कारण प्रहरीले दैनिक गर्नु पर्ने कार्य सम्पादनमा समेत समस्या परेको भनाई रहेको छ ।
जिल्लाभर भुकम्पका कारण भत्किएका प्रहरी चौकीहरु मध्ये सुगम स्थानहरुमा केही निर्माण भएको भए पनि विकट क्षेत्रका चौकीका भवनहरु निर्माण गर्ने सुरुवात समेत गरेको छैन ।
विशेष गरी उत्तरी धादिङको तिन ओटा गाँउपालीका हेर्ने एक मात्र प्रहरी चौकी ईलाका प्रहरी कार्यालय दार्खाको चौकी भवन नभए पछि सो स्थानमा अत्यन्त समस्या भोग्नु परेको छ । प्रहरीहरुलाई विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अपराधीहरुलाई पक्राउ गरेर राख्नका लागी पनि समस्या परेको छ ।
प्रहरीहरुलाई खाने बस्ने र हतियार राख्ने स्थानहरुको समस्या समेत उत्पन्न भएको प्रहरी असई फौजदारी यादवले बताए । “चिसोको मौसम टेन्ट मुनीको बसाई सारै समस्या भएको छ , तर पनि देश समाजको सुरक्षाको निम्ती कुनै प्रवाह छैन” उनले भने ।
धादिङ जिल्लाका प्रहरी चौकीहरु निर्माणका लागी ठेक्का भएको भए पनि अझै निर्माण कार्य सुरु हुन सकेको छैन । जिल्लाको ग्रामीण क्षेत्रमा रहेका प्रहरी चौकीहरु अझै निर्माण सम्पन्न हुन सकेको छैन भने सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय धादिङको मुख्य कार्यालयमा पनि उस्तैसमस्या छ । भुकम्पले भत्किएका भवनहरु निर्माण कार्य सम्पन्न हुन नसक्दा अझै पनि टेन्ट मै बस्नुपरेको छ ।
२०७४ माघ १९ गते प्रकाशित