Sat. Jul 5th, 2025

प्रदेश ३ मा मुख्यमन्त्रीको कार्यालय खुल्यो, प्रमुख सचिवद्वारा पदबहाली

१९ माघ, हेटौंडा

प्रदेश ३ को मुख्यमन्त्रीको कार्यालय शुक्रबारबाट सञ्चालनमा आएको छ । प्रदेश सरकारका प्रमुख सचिव रेश्मीराज पाण्डेले शुक्रबार नै मुख्यमन्त्रीको कार्यालयमा पदबहाल भएका छन् ।

हेडौंटास्थित मकवानपुर जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनलाई नै मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषदको कार्यालय कायम गरिएको छ ।

संविधान अनुसार फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन भइसक्नुपर्ने भएकाले मुख्यमन्त्रीको कार्यालय सञ्चालनमा ल्याइएको प्रमुख सचिव पाण्डेले बताए ।

सरकारले एकसाता अघि उनलाई प्रदेश ३ को प्रमुख सचिव नियुक्त गरेको हो । यसअघि पाण्डे हटौंडास्थित मध्यमान्चल क्षेत्रीय प्रशासक थिए ।

क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोइरालाको कार्यालय र आवास बनाइएपछि मुख्यमन्त्री र प्रमुख सचिवका लागि जिल्ला समन्वय समितिको भवन खाली गरिएको हो ।

प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरु आउनुअघिनै मन्त्रालय संरचना खडा भइसक्ने पाण्डेले बताए । प्रदेश सरकारका ७ वटा मन्त्रालयको लागि पनि भवन व्यवस्था भइसकेको छ ।

श्रम कार्यालयको नयाँ भवनमा ३ वटा मन्त्रालय रहनेछन् भने घरेलु र स्वास्थ्य निर्देशहालयमा बाँकी मन्त्रालय रहनेछन् ।

सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार र प्रदेश संसदका लागि खटाएका कर्मचारी हेटौंडा नआएका कारण समस्या भएको छ । संसद बैठक सुरु भइसकेको अवस्थामा एकजना बाहेक सामान्यले खटाएका कर्मचारी कोही आएका छैनन् ।

त्यस्तै प्रदेश सरकारका लागि खटाएका कर्मचारी पनि काठमाडौंबाट हेटौंडा आइ नसकेको एक अधिकारीले बताए ।

२०७४ माघ १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: