Fri. Mar 29th, 2024

गृहिणी प्रौढ कक्षा पढेर एसएलसीमा सामेल हुँदै

slc-exam-300x193
धादिङ – खुल्ला गृहिणी प्रौढ कक्षा पढेका धादिङका ६९ जना परीक्षार्थीले अन्य विद्यार्थीहरुसंगै एसएलसीको परीक्षा दिने भएका छन् ।

निम्न माध्यामिक तह अध्ययनपछि स्कुलमा पढ्न नपाएकाहरुले खुल्ला विद्यालय पढेर एसएलसी परीक्षामा सहभागी हुन लागेका हुन् ।

जनजागृति मावि थाक्रेमा खुल्ला गृहिणी कक्षा अध्ययन गरेका ३४ जना र निलकण्ठ उच्च मावि धादिङबेसीमा अध्ययन गरेका ३५ जना अन्य विद्यार्थी सरह परीक्षामा सहभागी हुन लागेका हुन् ।

निलकण्ठ उच्च माध्यमिक विद्यालयबाट खुल्ला परीक्षामा सहभागी हुन लाग्नु भएका धादिङ गुम्दी–३ का मिना गुरुङ खुल्ला परीक्षा मार्फत एसएलसी परीक्षा दिन पाएकोमा खुसी व्यक्त गर्नुहुन्छ । उहाँ मात्र होइन तिप्लिङ ९ का हिमाल घले, ज्यामरुङ–८ का सीता श्रेष्ठ, झार्लाङ–१ का विकास तामाङ, धुषा–९ का भीम बहादुर चेपाङ पनि खुल्ला परीक्षा मार्फत एसएलसीको परीक्षा दिँदै हुनुहुन्छ ।

जनजागृति उच्च माविको खुल्ला गृहिणी कक्षाबाट परीक्षा तयारी गरेका ३४ जनाले मछिन्द्र उच्च माविमा परीक्षा केन्द्र तोकिएको छ भने निलकण्ठ उच्च माविमा खुल्ला शिक्षाबाट परीक्षा तयारी गरेका ३५ जनाका लागि धादिङबेसी कै बालमन्दिर माविमा परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा सहभागी हुनेहरुमा १८ देखि ४० वर्ष उमेर समूहका रहेका छन् ।

हात भाँचिएर वा अन्य कारण लेख्न नसक्ने भएका परीक्षार्थीले कक्षा ९ मा पढ्दै गरेका साथीको सहयोगमा परीक्षा दिन पाउने जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालले बताउनुभएको छ । सहयोगी राखेर लेख्नुपर्ने अवस्था आएमा सम्बन्धित विद्यालयको सिफारिस, डाक्टर र प्रहरीको रिपोर्टको आधारमा अनुमति लिनुपर्ने व्यवस्था छ । धादिङमा अहिलेसम्म सहयोगी राखेर लेखाउन एक जनाले मात्र अनुमति लिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

 

About The Author

Loading...

अन्य समाचारहरु: