

२५ माघ, धादिङ –
नेपाल गुणस्तर तथा नापतौल विभागले धादिङको मेट्रो ग्यास उद्योग नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ ।
विभागले मेट्रो ग्यास उद्योग सहित विभागले नवलपरासी स्थित गैडाकोटको जानकी ग्यास उद्योग र वीरगञ्जको एनएल ग्यास उद्योग लाई गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो ।
विभागले उक्त ग्यास उद्योगमा दुई पटक निरीक्षण गरी गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा सञ्चालित ५५ ग्यास उद्योगमध्ये हालसम्म चारवटा उद्योगले मात्र गुणस्तर प्रमाणपत्र लिई सञ्चालन गरेका छन् । आज थप तीनवटालाई गुणस्तर प्रमाणपत्र प्रदान गरेपछि सो संख्या सात पुगेको छ । अठचालीस ग्यास उद्योगले अहिलेसम्म गुणस्तर प्रमाणपत्र लिएका छैनन् ।
गुणस्तर प्रमाणपत्र लिनेमा मनोज ग्यास उद्योग वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग धादिङ र नेपाल ग्यास उद्योग बालाजु रहेका छन् । गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दुई महिनाभित्र सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको बताए ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची–२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ ।
२०७४ माघ २५ गते प्रकाशित