Fri. Jul 4th, 2025

समानुपातिक सूची बुझाउने समयसीमा आज सकिदै

२९ माघ, काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ दलले प्राप्त गरेको सिट संख्यामा सदस्य छनोट गरी सुची बुझाउन निर्वाचन आयोगले दलहरुलाई दिएको समयसीमा आज सकिदैछ ।

आयोगले समानुपातिकको कुल १ सय १० सिट, दलहरुले प्राप्त गरेको मतका आधारमा बाँडफाँट गरी क्लस्टर मिलाएर सूची पठाउन तीनदिनको समयसीमा सहित शुक्रबार दलहरुलाई पत्राचार गरेको थियो ।

सो समयसीमा आज साँझ ५ बजे सकिने आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिय। आयोगमा एमालेले आफ्नो भागमा परेका ४१ जनाको सूची हिजै बुझाएपनि कंग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले सूची बुझाउन बाँकी छ ।

समानुपातिक तर्फ कंग्रेसले ४०, माओवादी केन्द्रले १७, फोरम र राजपाले समान ६–६ सिट प्राप्त गरेका छन् । दलहरुबाट प्राप्त हुने सूची अध्ययन गरी नमिलेको भए सच्याउन पुन: दलहरुले २ दिनको समय पाउनेछन् ।

त्यसपछि मात्र आयोगले प्रतिनिधि सभा अन्तर्गतको अन्तिम परिणाम सार्वजनिक गर्नेछ । संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने संवैधानिक बाध्यताका कारण राष्ट्रिय सभाको निर्वाचनको परिणामपश्चात मात्र आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको प्रक्रिया अघि बढाएको हो ।

प्रतिनिधिभाको प्रत्यक्ष र राष्ट्रिय सभामा पनि महिला सदस्यको संख्या न्युन भएकाले ३३ प्रतिशत पुर्‍याउन समानुपातिकतर्फ अधिकांश महिला सदस्य छान्नुपर्नेछ ।

समानुपातिकको अन्तिम परिणाम पछि आयोगले प्रत्यक्ष र समानुपातिक दुबै निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने छ । प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपतिले बुझेलगत्तै नयाँ सरकार गठनको आह्वानका लागी राष्ट्रपतिलाई बाटो खुल्नेछ ।

२०७४ माघ २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: