

१ फागुन, धादिङ –
महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ । महाशिवरात्री पर्वको अवसरमा गत वर्षजस्तै यस वर्ष पनि धादिङको विभिन्न ठाउँमा बिहानैदेखि मेला लागेको छ ।
शिवरात्रीको अवसरमा धादिङको नीलकण्ठ नगरपालिकामा रहेको पशुपति मन्दिर, नलाङको सिद्धालेक, कल्लेरीमा रहेको गुप्तेश्वर मन्दिरमा पूजा तथा आराधना गर्नेको भीड लागेको छ ।
सिद्धलेक गाउँपालिकामा स्थित नलाङ रर सलाङको बीचमा रहेको सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ। सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ।
त्यस्तै गल्छी गाउँपालिकाको कल्लेरीमा पर्ने नाङ्गो डाडाँमा अवस्थित गुप्तेश्वरी गुफालाई एक रमणीय स्थलको रुपमा लिन सकिन्छ । यहाँबाट धादिङका विभिन्न स्थानहरुको मनोरम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । यस गुफाभित्र थुप्रै जीवहरुको आकृतिसँग मिल्ने दृश्यहरु देख्न सकिन्छ । गाई वस्तु, मानव लगायत खेतबारीको स्वरुपहरु देख्न सकिन्छ । यसैगरी महादेवको मूर्ति आकारको साथै गाईको थुनबाट दुध बगिरहे जस्तो पनि देख्न सकिन्छ ।
शिवजी उत्पन्न भएको रातका नामबाट नामाकरण गरिएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार रात्रीमध्ये एक पवित्र पर्वका रुपमा पुराणमा उल्लेख गरिएको छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व ९जगतको कल्याण गर्ने तत्व० ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको भनाइ छ ।
२०७४ फागुन १ गते प्रकाशित