१ फागुन, धादिङ ।
गल्छीबाट शुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भएपनि धादिङको गल्छी बजार र नुवाकोटको गंगटेदेखि ढुङ्गे बजारसम्म चार लेन बनाउन लागिएको छ । गल्छीको मुख्य बजारमा ५०० मिटर र गंगटेदेखि ढुङ्गेसम्म पाँच किलोमिटर सडकमा बीचमा फूलबारी (क्वारी) सहित चार लेनको बनाउन लागिएको हो ।
दुई लेन सडकमा ११ मिटर कालोपत्रे बनाइने सडकको मध्यभागदेखि दायाँबायाँ १५÷१५ मिटर जग्गा अधिग्रहणका लागि नापी कार्यालयमार्फत लगत संकलन भइरहेकाले जतिसक्दो चाँडो यकिन गरी मुआब्जा वितरण गर्न पहल भइरहेको छ । रु नौ अर्ब पचास करोडको लगानीमा निर्माण भइरहेको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले रु तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किलोमिटर सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो ।
२०७४ फागुन १ गते प्रकाशित