Fri. Jul 4th, 2025

कृष्णप्रसादका बुवाआमा सोध्दैछन, ‘हाम्रो छोरो मलेसियामै छ कि नेपालमा?’

 

रामकुमार थापा/६ फागुन, धादिङ ।

धादिङको पाल्पाभञ्ज्याङकी खिनकुमारी लम्साल छोरालाई सपनामा देख्छीन् । । खिनकुमारीका छोरा कृष्णप्रसाद विदेश जाने बेलामा लगाएको त्यही पुराना लुगामा आमा भन्दै हाँस्दै हातमा झोला बोकेर घर आइपुगेका हुन्छन । तर यो सपना, सपना मात्रै भयो कहिल्यै बिपना बन्न सकेन ।

मलेसिया गएको छोरो १४ वर्ष हुँदा पनि फर्किएनन । तर खिनकुमारी यही सपना बेला बेला देखीरहन्छीन् । कृष्णप्रसाद १४ वर्ष अघि अर्थात २०७० सालमा मलेसिया गएका हुन । त्यतिबेला उनी काठमाडौंमा म्यानपावरमा काम गर्थे । आफूले काम गरिरहेकै म्यानपावरमा राम्रो कामको माग आएको भन्दै कृष्णप्रसादले विदेश जाने निर्णय गरे ।

विदेश गइसकेपछि फोन गरिरहन्थे । कम्पनीमा काम छ भन्ने कृष्णप्रसादले २ वर्षमा एक लाख ३५ हजार रुपैयाँ पनि पठाए । २०७२ साल भदौमा अन्तिम पटक छोरासँग कुरा गर्दा स्वस्तिकप्रसादले दसैँ आउनै लागेकाले पैसा पठाइदिन भने । तर कृष्णप्रसादले काम गर्न नपाएकाले आफूसँग पैसा छैन भनेर बुबालाई भनेका थिए ।

स्वस्तिकप्रसादले छोरालाई काम पनि नपाउने अनि पैसा नहुने भए घर फर्किन आग्रह गरेका थिए । ‘मैले त्यतिबेला अब काम र कमाइ नै हुँदैन भने फर्कि यतै खेतीपाती गरौंला भनें’ स्वस्तिकप्रसादले भने ‘ उसले अहिले त आउँदिन यदि आएँ भनें पनि फागुनमा आउँछु भन्यो त्यसपछि मेरो कुरा भएन ।’

त्यसपछि बुवासँग मात्रै होइन कृष्णप्रसादको कसैसँग कुरा भएन । परिवारसँग सम्पर्क नभएको फागुनमा कृष्णप्रसादसँग मलेसियामा सँगै काम गर्ने धादिङकै मैदीका हेमा सापकोटाले आफूहरु सँगै काठमाडौं आएको खबर सुनाए परिवारलाई । हेमाले आफूसँगै ओर्लिएका कृष्णप्रसाद दिदिको घर काठमाडौंमै छ त्यसैले एकदुई दिन काठमाण्डौमा बसेर आउँछु भनेका कुरा पनि सुनाए ।

खबर सुनेदेखि परिवारको आँखा बाटोतिरै थियो । परिवारले काठमाडौंमा रहेका आफन्तकोमा नै बसे होला भन्ने सोचे । तर कृष्णप्रसादले भनेका एक दिन दुई दिन हुँदै हप्ता दिन बितिसक्दा पनि नफर्किएपछि परिवार आत्तियो । त्यसपछि खोज्न थालेका परिवारले १० वर्ष हुँदा पनि कृष्णप्रसादलाई भेट्टाएका छैनन ।

खोज्ने क्रममा काठमाडौंमा पुग्दा परिवारका सदस्यले कृष्णप्रसाद एयरपोर्ट नजिकैको एउटा होटलमा एक रात बसेको देखिएको छ । तर त्यसपछि कहाँ गए भन्ने पत्तो लागेन ।

२०७४ फागुन ६ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: