

सरिता श्रेष्ठ /८ फागुन, धादिङ –
धादिङको गजुरी गाउँपालिकाको चाम्बासमा राजेश र जुना श्रेष्ठको दम्पतीले ९ वर्षदेखि केरा व्यापार गर्दै आएका छन् । केरा ब्यापार गर्दै आएका उनीहरुले केरा बेचेर मासिक ६० लाखसम्म आम्दानी गर्ने गरेका छन् ।
अहिले प्रति दर्जन केराको ६० देखि १२० रुपैंयाका दरले बिक्रि गर्ने गरेको राजेशले बताए । रोजगारीका लागि धेरै युवाहरु गाउँबाट सहर र सहरबाट विदेशतिर पलायन भएका छन् । ‘आफ्नै जन्मथलोमा श्रीमती र छोराछोरीको साथमै बसी काम गर्न पाउनु नै जिवनको सबैभन्दा ठुलो खुसी ठान्छु,’ राजेशले भने, ‘पौरख गर्ने हो भने देशमै सबैथोक छ, किन जानु विदेश ?’ केरा व्यापार गरि भएको आम्दानीले २ सन्तान सहितको उनीहरुको परिवार राम्रो संग चलिरहेको छ ।
राजमार्ग छेवैमा बेच्न राखिएको पहेला र हरिया केराले जो कोहीको मन लोभ्याउने गरेको छ । पृथ्वी राजमार्ग हुंदै नेपालका ६८ जिल्लाका मानिस दैनिक ओहोरदोहोर गर्ने गर्छन् । अधिकांश गाडी चाम्बासमा केरा किन्नका लागि रोकिन्छन् । ‘स्वदेशी उत्पादनलाई बजार प्रवद्र्धन गर्न अझै कठिन छ,’ राजेशले भने, ‘भारतीय केराले बजारलाई बिगारेको छ, किसानलाई निराश पार्ने काम भएको छ, कडाई गर्नुपर्छ ।’ मनग्ये आम्दानी हुने भएपछि गजुरी गाउँपालिकाका बस्तीहरू यतिबेला केरा खेतीले भरिएको छ । गाउँपालिकाको रातमाटे, कटुवाखोला, भूमेडाँडा, डाँडागाउँलगायतका २ सय किसान परिवार केरा खेतीमै आश्रित छन् । एकजनाले १ देखि ३५ रोपनी जग्गामा केरा खेती गरेको किसानहरुले बताए ।
गजुरीकै डांडागाउँ, भुमेडांडा, अमृतटार लगायतका गाउँबाट काच्चो केरा किनेर ल्याउने गरेका छन् । एक घरी काच्चो केरा ४ सय देखि ५ सय रुपैंयाका दरले पाइन्छ । यसरी किन्दा दर्जनको २० देखि ३० रुपैंया पर्न जान्छ जुनाले भनिन्, ‘श्रीमानले गाउँबाट काँचो केरा किनेर ल्याउनुहुन्छ । म बसेर बेच्ने गर्छु, दिउँसोको समयमा उहाँले पनि सघाउनुहुन्छ ।’ हाल यस क्षेत्रमा २५ जनाभन्दा बढीले केराको व्यापार गर्छन् । यी सबै व्यापारीले त्यसै क्षेत्र वरपर उत्पादन भएका केरा किसानबाट किनेर बेच्ने गरेका छन् । कतिपय सडक छेउमा केरा व्यापार गर्नेहरूको आफ्नै पनि केराखेती छन् भने केहीले किनेर ल्याउने गर्छन् ।
गजुरीको चाम्बास, छहरे र चालिसे यतिखेर पाकेको केरा पाउने प्रख्यात ठाउँका रूपमा चिनिन थालेको छ । यस ठाउँमा पाकेका पहेंला घरीले केरामय नै भएको छ । गजुरी क्षेत्रका किसानहरू केराका लागि बजारको कुनै समस्या नै नरहेको बताउँछन् । केरा खेतीलाई व्यवस्थित बनाउन उनीहरुले चारवर्ष अगाडि चम्वास केराखेती समूह गठन गरी कृषिमा दर्ता गराएका छन् । समूहका किसानहरुको केरा खेतीप्रतिको लगाव र आकर्षण देखेर कृषि मार्फत निकै सहयोग प्राप्त गरिसकेको केरा खेती किसान गुणबहादुर बताउँछन् ।
यस क्षेत्रमा चिनी चम्फा, लोकल मालबुवा, झप्री, मुंग्रेलगायतका केराको खेती हुने गरेको छ । खेती गरेर घरधन्दा धान्न धौँ धौँ बेहार्नु गरेका उनले व्यवसायीक रुपमा केरा खेती सुरु गरेका थिए । पृथ्वीराजमार्गमा पर्ने चाम्बासमा पाकेका पहेँला घरी केरा हेर्दामा नै लोभलाग्दा देखिन्छन् । यी केराहरु हेर्नका लागिमात्र होइन खानका लागि पनि उत्तिकै स्वादिष्ट छ ।
२०७४ फागुन ८ गते प्रकाशित