

सरिता श्रेष्ठ / १८ फागुन, धादिङ –
नेत्रावती गाउँपालिका वडा नं ४ माथिल्लो घोर्मुका धनबहादुर घलेले एक तले घर ठडाएका छन् । ढुंगा बालुवाको जोडाईमा जस्ताको छानो छाएर एक तल्ले घरमा दुई कोठा बनाएका छन् । सरकारले दिएको ५० हजारबाट घर बनाउन सुरु गरेका उनले दोस्रो, तेस्रो किस्ताको ३ लाखमा डेढ लाख थपेर साढे ४ लाखमा घर बनाएका छन् ।
तीन हिउँद र तीन बर्खा टहरामा गुजारेका उनको थाप्लोमा डेढ लाख ऋण थपिएको छ । घर बनाउदाँ बनाउँदै पैसा पुगेन धनबहादुरले भने, ‘छरछिमेकबाट डेढ लाख ऋण खोजेर घर ठडाए ।’ भूकम्प गएको तीन वर्षसम्म टहरामा नै बास थियो अहिले बल्ल पक्की घरमा बस्न पाएका छौँ धनबहादुरले थपे । उनको ११ जनाको परिवार छ । छोराछोरी पढ्नका लागि अन्यन्त्र बस्ने गर्छ । चाडपर्व र परिवारका सबै सदस्य जम्मा भएको बेलामा घरमा सुत्ने ठाउँको अभाव हुने गरेको उनले बताए ।
२०७२ साल बैशाखमा गएको भूकम्पले धनबहादुरको घर बस्नै नहुने गरी ढलेको थियो । उनी ढलेको घर हेर्दै मनलाई शान्तवना दिदै आइरहेका थिए । भत्किएको घर बन्दै जाँदा धनबहादुरलाई ऋण पनि बढ्दै गएको छ । अब पक्की घरमा बस्न पाउने भएपछि त्यो ऋणको बोझ बिर्साइदिएको उनले बताए । ऋण गरेर घर बनाइयो, बिस्तारै तिर्दै गरौँला नी धनबहादुरले भने, ‘पहिले गाँस, बाँस र कपास अनि मात्र ऋणको भारीलाई बिसाउँला ।’ भूकम्पपछि धनबहदुरको परिवार ढलेकै घरको नजिकै अस्थायी टहरा बनाएर बस्दै आइरहेको थिए । झरी, शीत, तुषारो र बर्खा टहरामुनि बिताउँदाको कष्ट सम्झदै धनबहादुरले भने, ‘अब त टहराको कहर सकियो ।’ तीन वर्ष टहरामा बिताएको अनुभव सुनाउँदै धनबहादुर भन्छन्, ‘वर्षामा पानीको पिरलो, हिउँदमा चिसोको ।‘ जस्ताबाट शीत चुहेर बिहान उठ्दा भिजाइरहेको कुरालाई सम्झदै धनबहादुर अब सुखको सास फेर्न पाइने भयो भनेर खुसी व्यक्त गर्छन् ।
माथिल्लो घोर्मुकै ईमान गुरुङले पनि भूकम्पपछि पक्की घर निर्माण गरेका छन् । उनले पनि दुई लाख ऋण गरेर पक्की भवन बनाएका छन् । आफ्नै शैलीमा घर निर्माण गर्दा इन्जिनियरले घर पास नगरिदिने हो कि भनेर सरकारको नम्स अनुसार घर बनाउन थालेको तर बनाउँदा बनाउँदै ऋण थपिएको ईमानले बताए । ‘अनुदानमा दिएको रकम अपुग भयो, दुई लाख ऋण गरेर घर बनाएको छु’, ईमानले भने, ‘कामदार, निर्माण सामग्री र ढुवानी खर्चले ऋणको भारी थपिएको छ ।’ जसोतसो गरेर यो नयाँ घर बनाइयो, घर नबन्दासम्म घरकै चिन्ता थियो, अब पुरानै दैनिकीमा फर्किएका छौं,’ ईमानले भने । साह्रै कष्टकर ढंगले टहरामा दिन गुज्रेको कुरालाई उनी सम्झन्छन् ।
घर बनाउन कामदारको अभाव रहेको भूकम्प पीडितहरु बताउँछन् । घर बनाउन ल्याउने सामानको महङ्गी बेहोनू परेको समस्या एकतातिर छ भने समयमै कामदार नपाउँदा र ज्याला महङगी हुदाँ समयमै घर बनाउन नसकेको पीडितको भनाई छ । सामान ल्याउन ढुवानी खर्च पनि महङगो भएका कारण घर बनाउन ढिलाई भएको पल्लोथोकका सानुकान्छा तामाङले बताए । सानुकान्छाले सहकारीबाट ऋण झिकेर घर बनाएका छन् । उनले ५० हजार ऋण थपेर ३ लाख ५० हजारमा घर तयार पारेका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार धादिङमा १८ हजार ९ सय ४० जनाले अनुदान लिएर घर निर्माण सम्पन्न गरेका छन् । कुल ७३ हजार ३ सय ४० लाभग्राही रहेकोमा ६८ हजार ८ सय ४० घरधुरीले अनुदान सम्झौता गरेको थिए । हाल ३१ हजार ६ सय ६६ घरको पुननिर्माण भइरहेको छ । सरकारले दोस्रो किस्ताको बापतको रकम लिने म्याद चैत मसान्तसम्म तोकेसँगै पुर्ननिर्माणले गति लिन थालेको छ ।
२०७४ फागुन १८ गते प्रकाशित