Sat. Jul 5th, 2025

विस्थापित २४ घरधुरीलाई जग्गा र लालपुर्जा

२२ फागुन, धादिङ

उत्तरी धादिङको खनियाबास, रुविभ्याली गाउँपालिकाका भूकम्प प्रभावितहरु २४ घर परिवारलाई जग्गा वितरण गरिएको छ । विनाशकारी भूकम्पको कारण आफ्नो थातथलो छाडेर विस्थापित भएका परिवारलाई जग्गा र लालपूर्जा वितरण गरिएको हो ।

नेपाल सरकारले जोखिम बस्ती र भुकम्प प्रभावित जसको घर बनाउने सुरक्षित जग्गा नभएकालाई जग्गा किन्न बढीमा २ लाख रकम दिने निर्णय गरेको थियो । नेपाल सरकारले पहिलो चरणमा जग्गा किन्न दिइने २ लाख रकम पाउने सुचिमा २ सय जनाको नाम सार्वजनिक गरेको थियो । हालसम्म २ सय जना प्रभावित मध्ये २४ जना प्रभावितहरुले आवश्यक प्रक्रिया तथा मापदण्ड पुरा गरेपछि जग्गा किन्न २/२ लाख रकम पाएका हुन् ।

भूकम्पले घर मात्र होइन घर बनाउने जग्गा समेत चिराचिरा भएर विचल्लीमा परेका खनियाबास गाउँपालिका ४ का कामिस्या तामाङले जग्गा र लालपूर्जा पाएकी छन् । भूकम्प गएपछि जेनतेन कष्टले बसेका कामिस्या जग्गा पाएपछि खुसी छन् । उनी भन्छिन्, ‘अब चाँहि घर बनाएर ढुक्कले बस्न पाउने आशा छ ।’ टहरामा बस्दै आइरहेकी कामिस्याको परिवारलाई सधै पहिरोको डरले सताउने गर्छ । ‘हिउँदमा सुख्खा पहिरो, वर्खामा हावा, हुरी र पानीले बस्नै नसक्ने हुने गरेको छ’ कामिस्याले भने, जग्गा पाएपछि सुरक्षित ठाउँमा घर बनाएर बस्छौँ ।’ जोखिम बस्तीमा रहेका प्रभावितलाइ सरकारले जग्गा किन्न दिएको २ लाख रकमबाट तामाङले जग्गा पाएकी छन् । उनले ४ आना जग्गा पाएकी छन् । सरकारले आवास निर्माणका लागि अनुदान दिएको रकमले घर बनाउने कामिस्याको भनाई छ । उनले ५० हजार रकम लिइसकेका छन् । अब घर बनाउन थाल्ने उनले बताइन् ।

धादिङ जिल्लाको उत्तरी भेगको अति विकटमा पर्ने साविकका पाँच गाविस तिप्लिङ, सेर्तुङ, लापा, झार्लाङ, रि गाउँका ४७ बस्तीलाई तत्कालै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न तत्कालिन सभासद्हरुको टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेको थियो । साविकका पाँच गाविसका विस्थापितलाई भूकम्पपछि बर्खायाममा पहिरोको जोखिम भएकाले तत्काल नै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको थियो । अहिले पीडितका गुनासा सुनुवाई भएको छ । तिप्लिङ, शेर्तुङ, लापा, सेमजोङ लगायतका साविकका गाविसहरु करिव १० गाउँहरु भौगर्विक सर्वेक्षण भएको छ । तर केन्द्रिय प्राधिकरणबाट सो अध्ययनको नतिजा भने प्रकाशन हुन बाँकी रहेको छ । क्रमैसँग पीडितलाई घर बनाउन जग्गा र लालपूर्जा वितरण गरिने राष्ट्रिय पुननिर्माण प्राधिकरण धादिङका प्रमुख रविचन्द्र पञ्जियारले बताए ।

प्रभावितले जग्गा किन्न पाइने बढीमा २ लाख रकम पाउन श्रीमान श्रीमतीको नाममा संयुक्त लालपुर्जा लिनुपर्ने हुन्छ । संयुक्त लालपुर्जा र लिखतको आधारमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले जग्गा विक्रि गर्ने धनीलाई बैङ्क खातामा चेक मार्फत रकम जम्मा गर्ने गरेको पञ्जियारले बताए । प्रभावितहरुको साविकको भन्दा अन्य ठाउँमा बस्न योग्य जग्गा जमिन नभएको वडा कार्यालय र गाउँपालिकाले प्रमाणित गरेपछि मात्र २ लाख रकम पाउन योग्य ठहरिएका हुन् ।

भूकम्प र पहिराका कारण उत्तरी धादिङका धेरैवटा बस्तिका वासिन्दा विस्थापित भएका थिए । उनीहरु धादिङबेसी आसपास शिविर खडा गरेर बसेका थिए । केहीले सदरमुकाममा नै डेरा लिएर बसेका छन् भने केही शिविरमा नै छन् । धादिङबेसीमा डेरा लिएर बसेका रुविभ्याली गाउँपालिका–५, धादिङकी शान्तिमाया तामाङले जग्गा किन्न दुइ लाख रुपैया पाएकी बताइन् । पाएको रकमले ५ आना जग्गा किनेकी शान्तिमाया भन्छिन् ‘अब गाउँमा फर्केर घर बनाउने हो ।’ गाउँमै फर्किएर पूरानै शैलीमा जीवनयापन गर्ने भूकम्प पीडितको भनाई छ ।

२०७४ फागुन २२ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: