Sat. Jul 5th, 2025

धादिङमा पुनर्निर्माण : तीन वर्ष बित्यो, फेरिएन टहरा


सरिता श्रेष्ठ / १५ बैशाख,  धादिङ –

भूकम्प गएको तीन वर्ष पूरा हुदाँ पनि अस्थायी टहरा गरेर बसिरहेकाहरुको टहरा फेरिएको छैन । तीन वर्षअघि गोरखा केन्द्र बिन्दु भएर गएको भूकम्पले हजारौको ज्यान र लाखौंको बास खोसेको थियो । भूकम्पपछि सरकारले पीडितको उद्धार, राहत र पुनर्निर्माणको कार्य गरेपनि पीडितका व्यथा उस्तै छन् । भूकम्पपछि बिस्थापित भएर टहरामा बस्दै आइरहेकाहरुको बस्ने बास फेरिएको छैन । हावाहुरी, पानी र घामले टहराको बसाई कष्टकर बनाएको छ । तीन बर्ष बित्दा पनि भूकम्पले दिएको चोट र क्षतिको उचित सम्बोधन हुन सकेको छैन ।

भूकम्पपछि सदरमुकाम धादिङबेसी आसपास अस्थायी टहरा बनाएर बस्दै आइरहेका रीचेतका बुद्धसिंह तामाङ अझै पनि टहरामा छन् । भूकम्पले भत्केको घर र चिराचिरा जमिन छोडेर उनको परिवार अस्थायी टहरामा बस्दै आइरहेका छन् । तीन वर्ष बित्दा पनि ढुक्क भएर सुुरक्षित ठाउँमा बस्न नपाएको तामाङ बताउँछन् । ‘तीन वर्ष भइसक्यो तर हाम्रोे टहरा फेरिएको छैन’ तामाङले भने, ‘अब त सरकारको भर पनि लाग्न छोडिसक्यो ।’ टहरामा कहिले हावाहुरी, पानी कहिले घामले सताउने गर्छ । अहिले गर्मी मौसममा टहरामा बस्नै नसकिने तामाङले बताए ।

उत्तरी धादिङबाट बिस्थापित भई सदरमुकाम धादिङबेसी आसपासमा त्रिपाल टागेर बसेका भूकम्प पीडितको टहरा फेरिएको छैन । भूकम्पबाट विस्थापित भएका परिवारलाई दुई लाख र घर बनाउन तीन लाख दिने भनिएपनि पहिलो किस्ताको ५० हजार मात्रै पाएका छन् । टहरामा उत्तरी धादिङको रुविभ्याली गाउँपालिकाको लापा, सेर्तुङ, तिप्लिङ, खनियाबास गाउँपालिकाको झार्लाङ, दार्खा, गंगाजमुना गाउँपालिकाको री लगायतबाट विस्थापित भूकम्प पीडितहरु छन् । अधिकांसले आफै ऋण गरेर जग्गा किनेका छन् भने केही खाली ठाउँमा जस्ताले छाएको टहरा बनाएर बसिरहेका छन् ।

दामगाडे शिविरमा बस्दै आइरहेका गंगाजमुना १ चेप्राङका शीतल तामाङको परिवार पनि टहरामा छन् । तीन वर्ष हिउँद बर्खा टहरामा गुजारेका उनी शीलत खोज्न छहारी समेत नभेटिएको बताइन् । हिउँद वर्खा यहि टहरामा नै गुज्रने भयो उनले भने, ‘ओत लाग्ने छानो फेर्न पाए ढुक्कसँग बस्न पाइथ्यो ।’ आफैले घर निर्माण गर्न सक्ने अवस्था नभएकाले अरुको भरमा बस्नुपर्दा विभिन्न स्वास्थ्य समस्या समेत भोग्नुपरेको उनले बताइन् । भूकम्पले घर भत्किएर र जमिन चिरा परेर गाउँमा बस्न नसक्ने भएपछि सदरमुकाम आसपास शिविरमा बस्दै आएका उत्तरका भुकम्प पीडितको छानो फेरिन सकेको छैन । केही पीडितहरु गाउँमा नै फर्किए भने केही टहरामा नै बसिरहेका छन् ।

जिल्लामा ७३ हजार २ सय ७६ कुल लाभग्राही रहेकोमा ६९ हजार ६ सय ५८ घरधुरीले अनुदान सम्झौता गरेका थिए । सरकारले आवास निर्माणका लागि तीन चरणमा अनुदान दिएपछि ६८ हजार ८ सय ४० घरधुरीले पहिलो किस्ता लिएका थिए । तर पहिलो किस्ता लिएर जग हालेपनि कतिपयले जगमै सिमित बनाएका छन् । २७ हजार ३ सय ७३ जनाले मात्र दोस्रो र ६ हजार ९२ घरधुरीले तेस्रो किस्ताको रकम लिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार जिल्लामा भूकम्पपछि १८ हजार ९ सय ४० घरधुरी निर्माण सम्पन्न भइसकेका छन् । अनुदान पाएका ४५ हजार एक सय २३ घरहरु अहिले बन्दै गरेका छन् ।

२०७५ बैशाख १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: