

१७ बैशाख, धादिङ –
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागे । छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए। छत्तीस वर्षका उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन गरेका थिए।
राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन् । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ। यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन्।
यस वर्ष दुई हजार २५६२ औँ बुद्ध जयन्तीमा रुपन्देहीको लुम्बिनी, नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकालिन्छ। यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् शोभायात्रा निकालिन्छ। प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
२०७५ बैशाख १७ गते प्रकाशित