

२५ वैशाख, चितवन –
हावाहुरीले ठूलो क्षति व्यहोर्ने अधिकांश केरा किसानले बीमा नगरेको पाइएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार क्षति व्यहोरेका मध्ये ७० प्रतिशत केरा किसानले बीमा गरेका छैनन् ।
“बीमा गर्ने किसानले क्षतिको करीब ९० प्रतिशत क्षतिपूर्ति पाउने छन्, बीमा नगर्ने किसानले व्यवसायबाटै हात धुनुपर्ने अवस्था छ,” उनले भने । किसानलाई सरकारले राहत दिनुपर्ने उहाँले माग गरे। जिल्लामा ६२० केरा किसान छन् । उनीहरुमध्ये १६५ जनाले मात्रै रु १७ करोडको केराको बीमा गरेका छन् । अघिल्लो वर्ष रु २२ करोडको बीमा भएकामा यस वर्ष बीमा गर्ने किसान बढ्नुपर्नेमा झन घटेका बेला ठूलो क्षति व्यहोर्नु परेको छ ।
आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण चितवनको पूर्वी क्षेत्र र भरतपुरको ठिमुरामा रु २० करोडको केरा क्षति भएको छ । पूर्वी चितवनमा लगाइएको ७० प्रतिशत केरा नष्ट भएको छ ।
२०७५ बैशाख २५ गते प्रकाशित