Sat. Jul 5th, 2025

धादिङका ग्रामीण सडकको अवस्था : पानी परे हिलो, घाम लागे धुलो

सरिता श्रेष्ठ/१ जेठ, धादिङ –

 वर्षा सुरु भएसँगै ग्रामीण क्षेत्रमा जाने सडक कहिले हिलाम्मे त कहिले धुलाम्मे बन्ने गरेको छ । पानी परेको समयमा माटो बगेर हिलाम्मे बन्ने गर्छ भने घाम लागेको समयमा धुलाम्मे हुने गरेको छ । सडक छेउछाउ घर हुने र पैदल यात्रा गर्नेहरुलाई कठिन हुने गरेको नीलकण्ठ नगरपालिका ९ का ऋषि लम्सालले बताए । ‘एक दिन पानी प¥यो भने सडकमा चिप्लिएर लड्ने गर्छ’ लम्सालले भने, ‘एकातिर घाम लागेपछि धुलोले सताउँछ र अर्कोतिर पानी परेपछि हिलोले सताउने गरेको छ ।’

जिल्लाको अधिकांश ग्रामीण बस्ती कच्ची सडक पार गरेर जाने पर्छ । सदरमुकाम धादिङबेसीबाट टारीबेसी, आरुघाट र खहरे जाने लामो दुरीको सडकमा सवारी साधन आवातजावत गर्दा अत्याधिक धुलो उड्ने गर्छ । अहिले हावाहुरी बढि चल्ने मौसम भएकाले घाम लागेको बेला सडकमा धेरै धुलो उड्ने र पानी पर्दा हिलो धेरै भएर हिड्नै नसक्ने हुने गरेको लम्साल बताउँछन् । ‘सडक छेउछाउका वस्तीका मानिसहरुलाई श्वासफेर्न समेत गाह्रो हुने गर्छ’ लम्सालले भने, ‘सडकमा अत्याधिक मात्रा धुलो उड्ने भएकाले घरमा विहान बेलुका खाना पकाउन र खान समेत समस्या हुने गरेको छ ।’

धादिङबेसी–सल्यानटार सडक खण्ड, सांकोष–तिप्लिङ सडक खण्ड, आदामघाट–किराञ्चोक सडक लगायतका ठाउँहरुमा निर्माण सुरु हुँदै गरेको बाटो पानीले बिगारेको छ । बाटो बिग्रिएका कारण सवारी साधन चल्न सकेको छैन । यातायात सञ्चालनमा आउन नसक्दा यात्रुहरू समस्यामा परेका छन् । यातायात सेवा सञ्चालन भएका ठाउँमा पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडकमा पानी जम्ने र सडक भत्किएर खाल्टाखुल्टी बनेपछि अहिले सडकहरूको अवस्था विजोग बनेको छ ।

सडकमा सवारी साधन गुड्ने वित्तिकै बारी भरी हिलै हिलो हुने हुनाले खेतीपाती गर्न समेत समस्या हुने गरेको किसानहरु बताउँछन् । खेतबारीमा लगाएको तरकारी बाली र घाँसपातमा पनि धुलै धुलो हुदाँ बस्तुभाउ समेत बिरामी हुने गरेको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धालाई बढी बिरामी पर्ने गरेको लम्सालले बताए । विद्यालयमा पढ्ने साना बालबालिकाहरु कहिले धुलै धुलो त कहिले हिलै हिलो भएर घर फर्कने गरेको निगलपानीका विमला लम्सालले बताइन् ।

पक्कि सडक निमार्णको कार्य भइरहेको ठाउँमा निर्माण कार्यको सुस्तताले सडक अलपत्र परेका छन् । सडक निमार्णको कामलाई तिव्रता दिई नागरिकको समस्या चाडो समाधान गर्न स्थानीयले आग्रह गरेका छन् । बाटोको अवस्था यति जोखिम पुर्ण र बिग्रिएको छ कि सवारी साधनमा यात्रा गर्नुभन्दा पैदल हिड्न सुरक्षित र छिटो हुने गर्दछ । वर्षा लागेपछि गन्तव्यमा नै नपुगिएला कि भन्ने डर हुने गरेको स्थानीय बताउँछन् ।
यता सदरमुकाम धादिङबेसीमा बढ्दो सहरी चाप सगैँ धुलो र धुवाले प्रदुषण बढ्दै गएको छ ।

ग्रामिण क्षेत्रका बाटोहरु धुलो तथा हिलाम्य हुने गरेको र सदरमुकाम आउँदा त्यहि धुलोले पनि बढी प्रदुषण हुने गरेको बजारबासीहरु बताउँछन् । धुलो र धुवाँले प्रदुषण बढेको धादिङबेसीमा पसल गर्दै आइरहनु भएका सरस्वती श्रेष्ठ बताउँछिन् । ‘पानी परेपछि फोहोर र हिलो बगाएर सडकमा जम्मा हुने गर्छ’ श्रेष्ठले भनिन् ‘घाम लाग्ने बित्तिकै धुलाम्मे हुने गर्छ ।’ ग्रामीण भेगमा गुड्ने गाडीले धुलो र हिलो ल्याउनाले पनि सदरुमकाममा प्रदुषण बढ्दै गइरहेको बजारबासीहरु बताउँछन् ।

धुलाम्य सडकको छेउछाउबाट हिड्न मुख छोप्नु पर्ने, रुघाखोकी, ज्वरो जस्ता समस्याले सताउने गरेका छन् । सडकमा हिड्नेको मात्रै होइन वरपर घर भएका र पसल गरेर बसेकाहरु पनि समस्यामा छन् । स्थानीय बास्न्दिाहरुलाई मात्र होइन ती सडक खण्ड भएर यात्रा गर्ने यात्रीहरुले पनि उत्तिकै सास्ती खेप्नु परेको छ । सवारी साधन गुड्न थालेपछि धेरै धुलो उड्ने र धुलैका कारण गन्तव्यमा पुग्न पनि धेरै समय लाग्ने गरेको उनीहरुको भनाई छ ।

बर्खायाम सुरु हुने वित्तिकै प्रायजसो ग्रामिण सडकका भाडादर पनि बढ्ने गरेको छ । सडकको अवस्था विग्रिएको कारण सवारी साधनमा बढी क्षति पुग्ने भएकाले यात्रुहरुबाट धेरै भाडा लिनुपरेको सवारीधनीहरु बताउँछन् । माल सामान ढुवानीमा बर्षा सुरु हुने वित्तिकै साविकको भन्दा तेब्बरसम्म भाडा बढ्ने गर्दछ । बर्षा सुरु भएको केही समयमा नै धादिङको उत्तरी क्षेत्रमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य आकाशिने गर्दछ भने उपभोग्य बस्तुहरुको अभाव समेत हुने गर्दछ । सडकमा सवारीका साधनहरु नियमित रुपमा चल्न नसक्दा बर्खाको समयमा उत्पादन हुने तरकारी लगायत अन्य कृषि उपजहरु विक्रीका लागि बजारसम्म ल्याउन समेत कठिन हुने गरेको किसानहरु बताउँछन ।

ग्रामीण सडक अवरुद्ध
वर्षा सुरु भए देखि नै धादिङका ग्रामीण सडकहरु अवरुद्ध छन् । हावाहुरी सहित परेको पानीले ग्रामीण क्षेत्रमा जाने बाटो अवरुद्ध भएको छ । जिल्लाको उत्तरी भेगमा जाने सडकहरु एकातिर बर्षातले बिग्रिएको छ भने अर्कोतिर पहिरो खसेका कारण यातयात संचालन हुन सकेको छैन । मर्मतको लागि लाखौ रकम खर्च भैसकेको जिल्लाका ग्रामीण सडक अवरुद्ध हुदाँ आवातजावतमा समस्या भएको छ ।
सडकमा जमेको पानी र सडक भत्किएर खाल्टाखुल्टी बनेपछि अहिले सडकहरुको अवस्था विजोक बनेको छ । सामान्य वर्षात सुरु हुदाँदेखि नै सडकमा सवारी चल्न नसक्दा उत्तरी धादिङका गाउँहरुमा खाद्यन्न लगायतका सामानहरु लैजान कठिन भएको छ । सडकमा सवारीका साधनहरु सहज रुपमा चल्न नसक्दा सडक छेउछाउमा व्यापार चलाएर बस्नेहरु पनि प्रभावित बनेका छन् । हिउँदको बेला राम्रैसँग संचालनमा आएका पसल तथा होटलहरुको खासै व्यापार नभएको व्यापारीहरु बताउँछन् ।

वर्खा लागेपछि ग्रामीण बाटो बन्द
धादिङ जिल्लाका अधिकांश ग्रामिण सडकहरु वर्षा लागेदेखि नै प्राय बन्द अवस्थामा छन । सदरमुकामबाट ग्रामिण क्षेत्रमा जाने सडकहरु बर्खा लाग्ने वित्तिकै सवारी साधनहरु गुडाउनै नमिल्ने गरि बिग्रिएका छन । सडक निर्माणका लागि सरकारी निकाय तथा सडक विभागले लाखौँ खर्च गरेको भएपनि सडक भने हिलाम्मे हुने गरेको छ । हिउद महिनामै सडकको स्तर उन्नती गर्नुपर्ने भएपनि बर्खा लागेपछि मात्रै काम सुरु गर्नाले पनि सडकको अवस्था झन् विग्रने गरेको हो ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी क्षेत्रतर्फ जाने बाटो हिल्लामै भएको छ भने पक्की सडकमा पनि माथितिरबाट लेदो झरेर बाटो पुरिएको छ । वर्षाले जिल्लाको विभिन्न क्षेत्रमा लगाइएकोे तरकारी, अन्नबाली नष्ट गरेको छ । हिउँदमा सामान्य तया बाटो सन्तोसजनक नै भएपनि बर्खा लागेपछि गाडी चलाउन सधै जोखिम हुने गरेको छ ।

२०७५ जेठ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: