Sat. Jul 5th, 2025

प्रदेश नम्बर ३ राजधानी खोज्दै

२ जेठ, हेटौडा

प्रदेश ३ को स्थायी राजधानी सम्भाव्यता अध्ययन गर्न गठित समितिले काम थालेको छ । प्रदेशसभा बैठकले गठन गरेको दुई सातापछि सम्भाब्यता अध्ययनका लागि समितिले काम सुरु गरेकोे हो ।

१३ सदस्यीय समितिको सोमबार हेटौँडामा बसेको बैठकले काठमाडौँका प्रदेशसभा सदस्य दीपक निरौलालाई समितिको सभापति चयन गरेको छ ।

सोमबारै समितिले प्रदेश तीनका मुख्यसचिव रेश्मीराज पाण्डेलाई बोलाएर अस्थायी राजधानी तोक्दा संघीय सरकारले लिएका निर्णयहरुबारे बुझेको छ ।

समितिका सभापति निरौलाले संघीय सरकारले अस्थायी राजधानी तोक्दा गरेको निर्णय, निर्णयका आधारहरु अध्ययनपछि सम्भावित प्रदेश राजधानीको स्थानबारे अध्ययन थालिने बताए ।

राजधानीबारे अन्तिम निर्णय प्रदेशसभाले गर्ने भएकाले समितिले सुझाव दिएर सहजिकरण मात्र गर्ने निरौलाको भनाई छ । समितिको बैठकले जेठ तीन गने मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । साथै समितिले राजधानीबारे गरिएको अध्ययनबारे एउटै धारणा बनाउन सदस्यहरुलाई जथाभावी बोल्न रोक लगाउनको लागि आचारसंहिता पनि निर्माण गरेको छ ।

अब समितिले राजधानीका लागि सम्भावित जिल्ला र शहरका जनप्रतिनिधि, विषय विज्ञ र जनताहरुसँग छलफल गर्ने सभापति निरौलाले बताए । काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेर मात्र राजधानीबारे सुझाव दिने समितिको योजना छ ।

प्रदेशसभा सचिवालयमा नुवाकोटको विदुर, भक्तपुरको बोडे, काभ्रेपलाञ्चोकको बनेपामा राजधानी हुनुपर्ने प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा बैठकले राजधानीको लागि प्रस्ताव दर्ता गरेका र अस्थायी राजधानी रहेका बाहेक अन्य जिल्लाका प्रदेशसभा सदस्यहरु सम्मिलित राजधानी सम्भाब्यता अध्ययन समिति यही वैशाख १४ गते गठन गरेको थियो ।

अस्थायी मुकाम मकवानपुरस्थित हेटौँडालाई नै राजधानी बनाउन याहाँका प्रदेशसभा सदस्य तथा स्थानीयवासीले पहल गरिरहेका छन् । भने काभ्रे, भक्तपुर लगायत जिल्लाका प्रदेशसभा सदस्यहरु आफ्नो जिल्लामा राजधानी लैजान आन्तरिक लबिङमा जुटिरहेका छन् ।

राजधानीबारे सर्वसम्मत भएमा प्रदेशसभाले त्यसलाई अनुमोदन गर्नेछ भने विवाद भएमा दुई तिहाई बहुमतबाट स्थायी राजधानी तोकिने संविधानमा उल्लेख छ ।

२०७५ जेठ २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: