
११ जेठ, धादिङ –
साना र शहरी सडकहरु प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा छ ।
स्थानीय तह र प्रदेशलाई हस्तान्तरण भएपछि विभाग मुख्य राजमार्गलाई उच्चगतिमा गाडी गुडाउन सकिने किसिमबाट विस्तारमा केन्द्रित हुनेछ ।
मुख्य राजमार्गहरुलाई यस्ता एक्स्प्रेस-वेका रुपमा अन्तर्राष्ट्रिय स्तरको बनाउन नयाँ प्रविधिको प्रयोग पनि गरिनेछ ।आगामी आर्थिक वर्षदेखि विभागले मुख्य राजमार्गहरु मात्र हेर्ने प्रवक्ता मुक्ति गौतमले बताए ।
सरकारले अहिलेका मुख्य राजमार्गहरुलाई ‘एक्स्प्रेस-वे’का रुपमा विकास गर्ने नीति ल्याएको छ । सडक विभागकाअनुसार अहिलेका ठूला र रणनीतिक महत्वका राजमार्गलाई एक्स्प्रेस-वेका रुपमा विकास गर्ने योजना अघि सारिएको हो । नेपालमा एक्स्प्रेस-वेका रुपमा फास्ट ट्रयाक निर्मणाधीन छ । विभागले पहिलो एक्स्प्रेस-वेेमा काम गर्न नपाए पनि मुख्य राजमार्गहरुलाई आफैंले ४ लेनको बनाउँदै जाने नीति लिएको एक अधिकारीले बताए ।
अहिलेसम्म पूर्वपश्चिम राजमार्गसहित विशेष महत्वका राजमार्गहरु दुई लेनमै सीमित छन् । तर, ‘एक्स्प्रेस-वे’का रुपमा विकास गर्दा त्यसलाई विस्तार गरेर कम्तिमा ४ लेनको बनाउने रणनीति सरकारले लिएको हो ।
एसियाली विकास बैंकको सहयोगमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्डलाई ४ लेनको बनाउने तयारी भइसकेको छ । यसका लागि निर्माण कम्पनी छनोट अन्तिम चरणमा पुगेको छ ।
काँकडभिट्टादेखि पथलैयासम्मको सडकलाई पनि चार लेनको बनाउन डीपीआर निर्माण गर्ने योजना छ । बुटवलदेखि महेन्द्रनगरसम्मको खण्डलाई विस्तार गर्दै एक्स्प्रेस-वे बनाउन डीपीआर गर्ने तयारी छ ।
यसबाहेक बाँकी खण्डलाई चार लेनको बनाउने योजनाअनुसार कोशी-कमला खण्डको डीपीआर तयार छ । यसको निर्माणका लागि सरकारले आगामी बजेटमा रकम छुट्याउने बताइएको छ ।
२०७५ जेठ ११ गते प्रकाशित