Sat. Jul 5th, 2025

दुई पेट्रोल पम्पमा शिलबन्दी

१४ जेठ, काठमाडौं

सरकारले ललितपुरका दुई वटा पेट्रोलपम्पमा शिलबन्दी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा सोमबार बजार अनुगमनमा निस्केको टोलीले उपभोक्तालाई ठगी गरेको पुष्टि भएपछि ललितपुरको एकान्तकुनास्थित प्रशान्ति आयल स्टोर्स र सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा टे्रडर्समा शिलबन्दी गरेको हो ।

अनुगमनका क्रममा प्रशान्ति आयल स्टोर्सले प्रति १० लिटरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा टे्रडर्सले प्रति १० लिटरमा ४० एमएल कम परिमाण बिक्री गरेको फेला परेपछि दुवै पम्पलाई शिलबन्दी गरिएको मन्त्रालयका उपसचिव सन्तोष विष्टले जानकारी दिए ।नाम तौल सम्बन्धी विद्यमान ऐन अनुसार पम्पले तोकिएको परिमाणमा २५ प्रतिशतसम्म कमी भएमा कुनै कारवाही नहुने व्यवस्था गरेको छ । अनुगमनका क्रममा २५ प्रतिशतको सीमा नाघेपछि टोलीले पम्पमा शिलबन्दी गरेको हो ।

कम परिमाण बेचेर उपभोक्तालाई ठगी गर्ने पम्पलाई अत्यन्तै न्युन कारवाहीको व्यवस्था गरिएको छ । उपसचिव विष्टले उपभोक्ता ठग्ने पम्प सञ्चालकलाई ऐन नियमले दिएसम्म कडा कारवाही गर्ने बताए ।मातहतका निकायको अनुगमन प्रभावकारी नभएको गुनासो आएपछि उद्योगमन्त्री मात्रिका यादवको निर्देशनमा मन्त्रालयका अधिकारीको संयोजनमा नापतौल तथा गुणस्तर विभाग र आयल निगमका प्राविधिक सहितको अनुगमन टोलीले सोमबार ५ वटा पम्पको अनुगमन गरेको हो ।

टोलीले एकान्तकुनाको गायत्री आयल सेन्टरलाई नोजल सुई ठीक नहुन्जेल तेल नबेच्न निर्देशन दिएको छ । त्यसैगरी शिवशक्ति आयल सेन्टर ताल्छिखेलमा दुईवटामध्ये एउटा मेसिन बिगि्रएको फेला परेपछि तत्काल मर्मत गर्न तथा बिगि्रएको मेसिनबाट तेल नबेच्न निर्देशन दिएको छ ।त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पेट्रोल पम्पको प्राविधिक पक्ष सुरक्षाको दृष्टिले अत्यन्तै जोखिमपूर्ण देखिएकाले तत्काल सुधार र पूर्वाधार निर्माण गर्न भनिएको छ । मन्त्रालयले मंगलबार पनि अनुगमन हुने बताएको छ ।

२०७५ जेठ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: