Fri. Jul 4th, 2025

सामान ओसार्दै, घर बनाउँदै उत्तरी धादिङका भूकम्प पीडित

सरिता श्रेष्ठ / २२ जेठ, धादिङ –

जिल्लाको दुर्गममा पर्ने खनियाबास गाउँपालिका वडा नं १ झार्लाङका पेम्बा तामाङ घर छाउन आवश्यक जस्तापाता बोकेर उकालो लाग्दै छन् । साधुरो र उकालो बाटोमा नाम्लो लगाएर प्रतिदिन सामान उकाल्ने गर्छन् । ‘घर बनाउन आवश्यक सिमेन्ट, बालुवा र जस्तापाता बोकेको हप्तौँ भयो’ तामाङ भन्छन्, ‘थाप्लोमा नाम्लो लगाएर दिनमा ७ घण्टा हिडेर सामान उकाल्नु पर्छ ।’ तामाङसहित उनका श्रीमती र छोरा पनि सामान उकाल्ने गर्छन् ।

२०७२ बैशाखमा गएको भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका तामाङको परिवार अझै पनि अस्थायी टहरामा बस्दै आइरहेका छन् । सरकारले दिएको पहिलो किस्ता बापतको रकम लिएर बसेका तामाङले भर्खरै मात्र घर बनाउन सुरसार कसेका छन् । धादिङबेसीदेखि डुन्डुरेसम्म ४० किलोमिटरको कच्चीबाटोसम्म मोटर पुग्ने गर्छ । डुन्डुरेबाट झार्लाङ, तिप्लिङ, सेर्तुङ, लापा लगायतका ठाउँमा पुग्न पैदल यात्रा बाहेक अरु केहीको बिकल्प छैन । प्रायजसो चिसो हावा चल्ने र पानी परिरहने उत्तरी क्षेत्रमा भूकम्पले भत्काएको घरको पुनर्निर्माण हुन सकेको छैन । सरकारले दिएको अनुदानको पहिलो किस्ता लिएपनि बाँकी रकम लिन घर थालेका छैनन् ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि झनै पनि दुर्गमका भूकम्प पीडित सुुरक्षित घरमा बस्न पाएका छैनन् । भौगोलिक विकटता, निर्माण सामग्रीको महङगी र आर्थिक अवस्था कमजोरका कारण कतिपयले घरको जग समेत हाल्न सकेका छैनन् । ‘न मोटरबाटो छ न निर्माण सामग्री, मानिस हिड्न बाटो समेत छैन’ तामाङले भने, ‘गाउँकै ढुङगा, माटोले गाह्रो लगाए, छाउने जस्ता लिन तल झरेका हौँ ।’ भिरालो बाटोमा पानी परेको बेलामा चिप्लिएर लड्ने गरेको लामाको भनाई छ ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि झार्लाङमा पुनर्निर्माणले गति लिन सकेको छैन । घण्टौँ लगाएर सामान उकाल्दै, घर ठड्याउन थालेको स्थानीय नरसिंह तामाङले बताए । ‘भौगोलिक विकटता, बढ्दो महङ्गी र बाटोको समस्याले घर बनाउन सकेका थिएनौँ’ तामाङले भने, ‘अहिले आफैले बोकेर सामान ओसार्दै, घर बनाउँदै छौँ ।’ घर बनाउ आवश्यक सामान आलोपालो बोकेर ओसार्ने समेत गरेका छन् ।

रुबी भ्यालीमा पर्ने सेर्तुङ र लापा, खनियाबासमा रहेको झार्लाङमा सडक संजाल पुग्न सकेको छैन । दैनिक उपभोग्य सामानदेखि आवश्यक लत्ताकपडासमेत खच्चडले दुई दिन लगाएर सदरमुकामबाट लैजानुपर्ने बाँध्यता छ । यस्तो अवस्थामा पुनर्निर्माणका सामान गाउँसम्म लैजान पु¥याउन कठिन छ । सडक संजाल नभएकै कारण पुनर्निर्माणमा समेत ढिलाइ भइरहेको छ । मंहङगो मूल्यमा डुन्डुरेसम्म निर्माण सामग्री गाडीमा हालेर ल्याउने गरिन्छ । त्यसपछि महङगो मूल्यमा नै स्थानीयलाई बोक्न लगाएर सामान ओसार्नुपर्ने हुन्छ ।

भूकम्पपछि लाभग्राही सूचिमा परेका १८ हजार ९ सय ४० जनाले मात्र आवास निर्माण सम्पन्न गरेका छन् । हालसम्म ६९ हजार ३ सय २१ जनाले पहिलो किस्ता बापतको रकम लगेका छन् । त्यस्तै ३५ हजार ६ सय १७ जना र तेस्रो किस्ताका लागि ९ हजार ३३ जनाको प्रमाणिकरण गरिएको पुननिर्माण प्राधिकरणका वेवसाइटमा उल्लेख गरिएको छ । भूकम्पपछि ७३ हजार २ सय ७६ लाभग्राही सूचिमा परेका मध्ये ६९ हजार ९ सय ७४ घरधुरीको अनुदान सम्झौता भएको थियो ।

२०७५ जेठ २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: