
२४ जेठ, धादिङ –
धादिङको थाक्रे गाउँपालिका ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन ।
डिभिजन सडक कार्यालयले पटकरपटक म्याद थपेर पनि काम नगरेपछि कालोसूचीमा राखेर पुनःठेक्का लगाएको छ । सडक डिभिजन कार्यालयले कारबाही भने गर्न सकेको छैन ।
गत वर्ष नै निर्माण गरिसक्नुपर्ने नाना कन्सट्रक्सनले धुषा स्वास्थ्यचौकी भवन, हुलाकभञ्ज्याङ चैनपुर बाँकोटघाट सडकस्तर उन्नती, गल्छीपुल डुम्रीचौर सडक, चिसापानी कोइलीखर्क सडक स्तरोन्नतिलगायत काम सम्पन्न भएको छैन ।
गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदार कम्पनीको विवरण तयार गरी मन्त्रालयमा पठाइएको र आदेश आएपछि कारबाहीको प्रक्रियामा जाने सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।
डिभिजन सडक कार्यालय चितवनको १३ वटा ठेक्का, जिल्ला प्राविधिक कार्यालयको तीनवटा तथा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको आठवटा ठेक्काको काम ठेकेदार कम्पनीले सन्तोषजनक रुपमा गर्न नसकेको विवरण गृहमन्त्रालयमा पठाइएको ढकालले बताए।
सडक, पुल, स्वास्थ्य चौकी, सडकको स्तरोन्नतिलगायत काम ओगटेर तोकिएको समयमा काम नगर्ने ठेकेदार तथा ठेकेदार कम्पनीलाई काम सन्तोषजनक नभएमा तत्कालै कारबाही गर्न सकिने प्रावधान छ । पटक/पटक विभिन्न कारण देखाएर सम्झौताको म्याद थप गर्ने गरिएपछि काममा लापरबाही हुने गरेको र गुणस्तरमा समेत सम्झौता हुने गरेको छ । विभिन्न २४ वटा योजनामा ठेक्का लिएका २० वटा ठेकेदार कम्पनीले तोकिएको समयमा काम नगरेको बताइएको छ ।
२०७५ जेठ २४ गते प्रकाशित