
नवराज गिरी / २६ जेठ, धादिङ –
भौगोलिक रुपमा विकट तथा दुर्गम स्थानमा अवस्थित उत्तरी धादिङको खनियाबास गाउँपालिकाको वडा नम्बर १ र २ मा विनाशकारी भूकम्प पश्चात् पुनर्निर्माण गरिएका बिद्यालय भवनहरु बिद्यालय कै पूर्ण स्वामित्व रहने गरी हस्तान्तरण गरिएको छ ।
२०७२ बैशाख १२ को महाबिनाशकारी भूकम्प लगत्तै ओपेरोन काठमाडौंको आर्थिक सहयोगमा फोकस नेपाल धादिङले साविकको झार्लाङ गाविसको १० ओटा बिद्यालयमा निर्माण गरेको २५ ओटा २ कोठे पक्की भवनको हस्तान्तरणसगै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।
दुई चरणमा निर्माण सम्पन्न गरेको बिद्यालय भवनको आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ५५लाख ७४ हजार ६ सय ७८ र आर्थिक वर्ष २०७४/०७५ मा २ करोड २८ लाख ६४ हजार ६ सय ५८ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको फोकस नेपाल धादिङका लेखाअधिकृत ईश्वर कडेलले जानकारी गराए ।
फोकस नेपाल धादिङले साविकको झार्लाङ गाविसमा २०७२ को भूकम्प पश्चात् सम्पूर्ण बिद्यालयको भौतिक संरचना ध्वस्त भएपछि तत्कालीन समयमा समस्य सुल्झाउन अर्धपक्कि अस्थायी सिकाइ केन्द्र निर्माण गरी पठनपाठन सञ्चालनमा सहयोग गरेको थियो ।
खनियाबास गाउँपालिका उपाध्यक्ष योमाया तामाङको प्रमुख आतिथ्यता रहेको बिद्यालय भवन हस्तान्तरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख शिवप्रसाद रेग्मीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सोही पालिका वडा नम्बर १ का वडा अध्यक्ष बुद्धि तामाङ र वडा नम्बर २ का वडा अध्यक्ष टेक बहादुर तामाङको समेत विशेष आतिथ्यता रहेको थियो ।
भवन हस्तान्तरण एवम् सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले भूकम्प पश्चात् बिधालयमा भवन पुनर्निर्माण गरी हरेक कक्षाकोठामा बाल मैत्री फर्निचरको समेत व्यवस्थापन गरेर बिद्यालयको वृद्धि विकासमा महत्त्वपूर्ण सहयोग गर्ने फोकस नेपाल धादिङ र ओपेरोन काठमाडौलाई विशेष धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा सहभागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, अभिभावक, तथा विद्यार्थीहरुले संस्थाले गरेको कामको सरहाना गरेका थिए ।
खनियाबास गाउँपालिका वडा नम्बर २ को झार्लाङ मावि मा सम्पन्न भवन हस्तान्तरण एवम् सार्वजनिक सुनुवाइ कार्यक्रममा करिब ५सय जनाको सहभागिता रहेको थियो ।
२०७५ जेठ २६ गते प्रकाशित