Fri. Jul 4th, 2025

७५३ स्थानीय तहमा नेकपाले संसदीय दल गठन गर्ने

५ असार, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संघीय संसद र प्रदेशसभामा जस्तै स्थानीय तहमा पनि संसदीय दल गठन गर्ने भएको छ । नेकपाको अन्तरिम विधानमा स्थानीय तह दल गठनको व्यवस्था गरिएको छ ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पार्टीको तर्फबाट निर्वाचित र मनोनित सम्पूर्ण पदाधिकारी र सदस्यहरु रहेको स्थानीय तह दल गठन गरिने विधानमा उल्लेख छ । देशका ७५३ स्थानीय तहमै संसदीय दल गठन हुनेछन् ।स्थानीय तहको संसदीय दलले आफ्नो नियमावली आफैं बनाउने र जिल्ला कमिटीबाट अनुमोदन गराउनुपर्ने विधानले व्यवस्था गरेको छ । दलको नेतृत्व भने जिल्ला कमिटी र सम्बन्धित कमिटीले निर्णय गरेबमोजिम हुनेछ ।

स्थानीय तह दलका सदस्यहरूले पार्टी जिल्ला कमिटी र सम्बन्धित कमिटीले तोकेको जिम्मेवारी पूरा गर्नुपर्नेछ र आफू सम्वद्ध पार्टी कमिटीले तोकेको कार्यक्षेत्र एवम् आफू निर्वाचित भएको निर्वाचन क्षेत्रमा कार्यरत रहनुपर्ने विधानले व्यवस्था गरेको छ ।

स्थानीय तह दलको नेता सम्बन्धित पार्टी कमिटीको सिफारिसमा जिल्ला कमिटीले तोक्ने विधान मस्यौदाकार नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । दलको नेता स्थानीय तहको प्रमुख वा अध्यक्ष हुनेछन् । प्रमुख वा अध्यक्ष नजितेको ठाउँमा उपप्रमुख वा उपाध्यक्षले दलको नेतृत्व गर्ने विधानले व्यवस्था गरेको छ ।प्रमुख र उपप्रमुख दुवै नजितेको ठाउँमा सम्बन्धित नगर वा गाउँपालिकामा निर्वाचित वा मनोनितमध्येका वरिष्ठ सदस्यले स्थानीय तह संसदीय दलको नेतृत्व गर्ने वैधानिक व्यवस्था गरिएको छ । केन्द्रमा जस्तै स्थानीय तह दलमा पनि उपनेता, प्रमुख सचेतक र सचेतकको व्यवस्था गरिएको छ ।

२०७५ असार ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: