
७ असार, धादिङ –
खाद्य अधिकारका सवालमा संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
खाद्य अधिकार हननका सवालमा यस अघि पनि समाचार सम्प्रेषण गर्दै आएका र भुकम्प पश्चात खाद्य अधिकार हनन बढ्दो अवस्थामा रहेकाले खाद्य अधिकार अनुगमन तथा रिपोर्टिङ् विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । फियान नेपालको आयोजनामा भएको कार्यक्रममा धादिङ जिल्लामा खाद्य अधिकारको अवस्था, समस्या र चुनौतिको विषयमा छलफल भएको थियो ।
खाद्यान्न वालीहरुमा धान, मकै, कोदो, जौ र फापर रहेका छन भने खाद्य बस्तुको आयात र निर्यातको अवस्था हेर्दा नेपालवाट बाहिर जाने खाद्यान्नको तुलनामा बाहिरवाट नेपाल भित्रिने खाद्यान्न, तरकारी, फलफुल, जिउदो पशु, माछा, तेल चिनी झण्डै चारगुणा बढी रहेकोछ ।
नेपालमा खाद्य र पोषण सुरक्षाको स्थिति सरकारी तथ्यांकमा हेर्दा ७५ जिल्ला मध्ये ३५ जिल्लाहरु खाद्य असुरक्षित जिल्लाका रुपमा रहेका छन भने १३ प्रतिशत जनसंख्या ९३५ लाख मध्यम देखि अति खाद्य असुरक्षित जनसंख्या रहेकोछ । खाद्य गरीवी २४ प्रतिशत र न्यूनतम क्यालोरी नपुगेका जनसंख्या ४१ प्रतिशत रहेकोछ । पोषणको अभावमा ३६ प्रतिशत पुडकोपना, २७ प्रतिशत कमतौल र १० प्रतिशतमा ख्याउटेपना रहेको तथ्याङकले देखाएको छ ।
कम कृषि उत्पादन र खाद्य असुरक्षाका कारणहरु हेर्दा कृषक परिवारसंग खेतीयोग्य जमिन कम हुनु, कृषि वालीहरुको उत्पादकत्व र उत्पादन कम हुनु, सिचाई सुविधा पर्याप्त नहुनु, कृषि उत्पादनका साधनहरुको कम प्रयोग हुनु, वालीमा रोग किराको प्रकोप बढ्नु, खाद्यान्नलाई जांडरक्सी बनाउनमा दुरुपयोग गरिनु, चामलको भात मात्रै खाने वानीको विकास हुनु, युवा वर्गको कृषि पेशामा कम रुची हुनु र कृषि मजदुरहरुको अभाव हुनु, पशुपालन ब्यवसाय घट्दै जानु, साना कृषकहरुको कृषि कार्यक्रम र सेवाको पहुंच नहुनु र युवा जनशक्तिको निरन्तर विदेश पलायन बढ्दै जानु, खेतीयोग्य जमिन बाझो रहनु र कृषियोग्य जमिन प्लटिंग भई घरवासमा परिणत हुदै जानु रहेका छन ।
२०७५ असार ७ गते प्रकाशित