
९ असार, धादिङ –
महिला सशक्तिकरण र लैङिगक समानताको लागि धादिङबेसीमा सामुदायिक मेलाको आयोजना गरिएको छ । सहि हो मेरो समर्थन उनलाई भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा सचेतनामुलक सन्देशहरु प्रस्तुत गरिएको थियो ।
महिला सशक्तीकरण र लैंगिक समानताका लागि सामुदायिक मेलाको रुपमा आयोजना गरिएको हो । कार्यक्रममा धादिङका ग्रामीण क्षेत्रका महिला, बालबालिकाहरुले सहभागीता जनाएका थिए ।
महिला र अधिकारको क्षेत्रमा काम गर्दै आएका संस्थाहरु एक्वेल एक्सेस नेपाल, सामुदायिक सारथी र यु एन ओमनको सहकार्यमा सामुदायिक मेलाको आयोजना गरिएको हो । राज्यको हरेक निकायमा महिलाको निर्णायक सहभागीता बढाउन र लेङिगक हिंसा न्युनिकरणको लागि जनचेतना फैलाउन सरोकारवालाहरुको सहभागीतामा सामुदायिक मेलाको आयोजना गरिएको हो ।
महिलालाई लक्षित गरेर आयोजित सामुदायिक मेलाको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकग्राम जमरकट्टेलले उद्घाटन गरेका थिए । संविधानले महिलालाई अनगिन्ति हक दिएकाले तिनको पूर्ण कार्यान्वन गर्ने प्रतिवद्धता उनले जनाए । नीति निर्माण तहमा महिलाको सहभागीता सुनिश्चित गरिए पनि ब्यवहारिक रुपमा देखिन बाँकी रहेको नेता जमरकट्टेलले बताए ।
ख्यातीप्राप्त कलाकारहरु शिवहरी पौडेल, मुखमा हान्नुजस्तो, जितु नेपाल मुन्द्रे निरज नेपाल, सविता गुरुङ, गायीका मेलिना राई लगायतले प्रत्येक घरमा आर्थिक अधिकार दिनुपर्छ, महिला पुरुष मिलेर परिवार संचालन गर्नुपर्छ भन्ने सन्देश दिने प्रदर्शन देखाएका थिए । महिलाको योगदान बोलीमा मात्र होइन व्यवहारमा पनि उतार्नु पर्ने सन्देश उनीहरुले दिएका थिए ।
महिला पुरुष विच बढदै गएको बेमेलका कारण हिंसाका घटनाहरु बढ्दै गएकाले महिला पुरुष बराबर हुन्, हिंसा गर्नु हुँदैन, महिला हिंसा न्युनिकरणको लागि पुरुषको पनि हात हुन्छ तथा महिला पुरुष मिलेर अघि बढेमा मात्र देशले समृद्धि हाँसिल गर्न सक्छ भन्ने सन्देश दिनको लागि मेला आयोजना गरिएको एक्वेल एक्सेस नेपालका संचार अधिकृत नवोदिता सुवेदीले जानकारी दिइन् ।
२०७५ असार ९ गते प्रकाशित