
फाइल फोटो
१४ असार, धादिङ –
उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ साईश्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनासहित ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खनियाबास गाउँपालिका ५ साईश्वाँरा बस्ने राजकुमार गुरुङका श्रीमती ३३ वर्षीय बसुदा गुरुङ, उनका छोरीहरु १० वर्षीय लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङ रहेका छन् । पहिरोमा पुरिएर बेपत्ता भएका ६५ वर्षीय शमशेर घले र उनका श्रीमती ६२ वर्षीय कोप्ची घलेको पनि मृत्यु भएको धादिङका प्रहरी उपरिक्षक डम्बर विकले जानकारी दिए ।
पहिरोमा परि ४ जना घाईते भएका छन् । घाईतेहरुको किन्ताङफेदीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ ।
अविरल वर्षा पछि जिल्लाको खनियाबास र नेत्रावती गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोले १७ घर पुुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
२०७५ असार १४ गते प्रकाशित