

१६ असार, काठमाडौं –
पत्रकार एवम् साहित्यकार यादव थपलियाको ४० वर्षका उमेरमा शुक्रबार ‘भाइरल इन्फ्लुएञ्जा’ का कारण निधन भएको छ ।
‘कान्तिपुर दैनिक’ पत्रिकाका वरिष्ठ उपसम्पादक थपलियाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार अपराह्न निधन भएको हो । ज्वरोका कारण बुधबार उपचारार्थ अस्पताल भर्ना भएका थपलियाको असामयिक निधन भएपछि परिवार, साहित्यकार, पत्रकार र उनका सहकर्मी स्तब्ध हुँदै अस्पताल र आर्यघाट पुगेका थिए ।
उनले यसअघि ‘नयाँ विकल्प’ साप्ताहिक, ‘जनपुकार’ साप्ताहिक, ‘खोजतलास’ सन्ध्याकालीन दैनिक, ‘स्पेशटाइम’ दैनिक, ‘नयाँ पत्रिका’ दैनिक र ‘नागरिक’ दैनिकमा सम्पादनको काम गरेका थिए ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११, डाँडाथोकमा जन्मिएका थपलिया नागार्जुन साहित्यिक प्रतिष्ठान, सिर्जना मझेरीलगायत संस्थाका संस्थापक सदस्य थिए । उनको २०६३ सालमा प्रतिष्ठानबाट ‘मृत्यु–चुम्बन’ उपन्यास प्रकाशन भएको थियो । उनको साहित्यिक ‘सम्मतिका छालभित्र’ समीक्षा कृति पनि प्रकाशित छ । उनले विभिन्न साहित्यिक पत्रिका र कृति सम्पादन गरेका थिए ।
२०७५ असार १६ गते प्रकाशित