
२२ असार, काठमाडौं –
हिमालपारिको जिल्ला मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा परि २२ जनाजति घाईते भएको प्रारम्भिक जानकारी आएको छ । जोमसोम–कोरला सडक बनाउन कामदार बोकेर गएको बा २ क २२१९ नम्बरको ट्रिपर कच्चि सडकमा सन्तुलन गुमाउँदा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेले जानकारी दिए ।
उनका अनुसार दुर्घटनमा धेरै कामदार घाइते भएका छन् । उनीहरुको उद्धारको तयारी भईरहेको उनले बताए । पहाडी जिल्लाबाट कामका लागि गएका मजदुर सवार ट्रिपर दुर्घटनामा परेको उनले बताए । मृतकको सनाखत हुन सकेको छैन । गाडी सडकबाट करिब ६० मिटर तल खोँचमा खसेको छ ।
जोमसोम–कोरला खण्डको भेनामदेखी झैतेसम्मको सडकमा काम गर्ने ती कामदार बिहानको खाना खाएर काममा फर्कदै गर्दा ट्रिपर दुर्घटनामा परेको उनले बताए ।
घाइतेको उद्धारका लागि एयर डाइनेष्टिको हेलिकोप्टर काठमाडौंबाट जाँदै गरेको उनले बताए । सेनाको हेलिकोप्टर पनि माग गरेको पौडेलले जानकारी दिए । मुस्ताङ प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काले स्थलमार्गबाट प्रहरी घटनास्थल तर्फ हिँडिसकेको बताए। घटनास्थल जोमसोमदेखि ५ घण्टा टाढा पर्छ।
२०७५ असार २२ गते प्रकाशित