
२ साउन ,जुम्ला –
सास फेर्न कठिन भएपछि अनशनरत डा. गोविन्द केसी अत्तालिन थालेका छन्। सास फेर्न धेरै गाह्रो भएपछि उनी बेलाबेलामा अत्तालिने गरेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए। आइतबार रातिदेखि देखिएको यो समस्या बढ्दै गएको छ। मंगलबार बिहान चार बजेतिर डा. केसीलाई सास फेर्न गाह्रो भएको थियो। अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको थियो।
‘डा. केसीको श्वासप्रश्वासमा निकै जटिलता देखिन थालेको छ। सास फेर्न समस्या भएपछि उहाँ छटपटाउनुभयो’, उनका सहयोगी नारायण कँडेलले भने, ‘अक्सिजनको मात्रा बढाएपछि उहाँलाई सहज भएको थियो।’ विगत १० दिनदेखि मुटुको चाल बढ्दो क्रममा छ। मुटुको चाल बढ्नु डा. केसीका लागि अर्को ठूलो खतरा रहेको चिकित्सकहरुले बताएका छन्।
यसैगरी स्लाइन चढाइएको हातमा संक्रमण देखिएको छ। यसले रगतको माध्यमबाट शरीरमा संक्रमण फैलन सक्ने खतरा बढाएको सहयोगी कँडेलले बताए। ‘जहाँ स्लाइन चढाउन खोज्यो, त्यही नसामा संक्रमण भइरहेको छ’, उनले भने, ‘स्लाइन चढाएको हात सुन्निँदै गएको छ।’ यस्तै घाँटीमा देखिएको संक्रमणसमेत बढ्दो क्रममा छ। डा. केसीले कुनै पनि औषधि लिन नमानेका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएको हो।
मस्तिष्कमा देखिएको समस्याले बेलाबेलामा डा. केसी बर्बराउन थालेका छन्। उनले बेसुरको कुरा गर्ने गरेको कँडेलले जानकारी दिए । ‘दिमागमा देखिएको समस्याका कारण बेलाबेलामा उहाँले बेसुरका कुरा गर्न थाल्नुभएको छ,’ उनले भने, ‘म भीरमा छु, जस्ता कुरा उहाँबाट आउने गरेका छन्।’ शरीर बाउँडिने समस्याले डा. केसी थलिएका छन्। उनलाई चिकित्सकहरुले दिनहुँ फिजियोथेरापी सेवा दिइरहेका छन्।
२०७५ साउन २ गते प्रकाशित