Sat. Jul 5th, 2025

दुर्घटनामा परेका पत्रकारको निधन

४ साउन, झापा

झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ ।नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक समेत रहेका ७१ वर्षे खनाल नेपाल पत्रकार संघका पूर्व अध्यक्ष हुन् ।

बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।उपचारकै क्रममा गएराति खनालको निधन भएको उनका भतिजा भानुभक्त खनालले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा साइकलमा यात्रारत उनलाई मे१ज ६५८ नंको जीपले पछाडिबाट ठाक्कर दिएको थियो ।ठक्कर दिने जीपका चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।उनको शवलाई कनकाई नदीमा शुक्रबार नै दिउँसो अन्त्येष्टि गरिने भएको छ ।

विसं २००४ पुस २९ गते तेह्रथुम जिल्लाको खाम्लालुङ गाविस वडा नं ९ सामथाङमा जन्मिएका खनालको बिर्तामोड–४ बसोबास थियो ।उनले लामो समयसम्म नयाँ कामना साप्ताहिक पत्रकारको प्रधानसम्पादक भएर पत्रिका प्रकाशन गरेका थिए भने ‘मेरो अमेरिका यात्रा’ र ‘बेलाबेलाको बोली’ नामक दुई वटा कृति प्रकाशित गरेका थिए ।

२०७५ साउन ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: