

५ साउन, धादिङ –
आफ्नो नाममा जग्गा नभएका धादिङका ८८ भूकम्पपीडितले सरकारले उपलब्ध गराएको अस्थायी आवास राहत बापतको सुविधा पाउन सकेको छैन ।
सार्वजनिक तथा अर्काको जग्गामा बसोबास गर्दै आएका भूकम्पपीडित राहत रकमबाट वञ्चित हुनु परेको छ । राहत रकम पाउँ भन्दै भूमिहीन, सुकुम्बासी लगायत ८८ परिवारको निवेदन जिल्ला आयोजना कार्यान्वय इकाइ धादिङमा आएको प्रमुख राजेन्द्र केसीले बताए ।
जिल्लाबाट भूकम्प पीडित सुकुम्बासीको नामावली राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा निवेदन पेश गरेपनि त्यसको सुनुवाई हुन सकेको छैन । आफ्नो स्वामित्वमा जग्गा नभएका भूकम्प पीडितलाई राहत दिन नसकिएको केसीले बताए ।
पुर्नर्निमाण प्राधिकरणले पीडितको माग सम्बोधन गरेपछि मात्र लाभग्राही सूचीमा राखेर राहत वितरण गर्ने बताएका छन् । सरकारी नीति प्रस्ट नहुँदा वास्तविक भूकम्प पीडितहरु राहत रकमबाट वञ्चित हुनु परेको पीडितहरुले गुनासो गरेका छन् ।
२०७५ साउन ५ गते प्रकाशित