

मनिष दुवाडी/भाद्र २१, धादिङ –
नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेबाट ३ घण्टा पैदल हिँडेर सदरमुकाममा युरिया मल लिन आएका शेर बहादुर गुरुङ नीलकण्ठ सहकारी अगाडीको लाइनमा भेटिए । यस भन्दा अघि ३ पटक आएर आएर पनि मल नपाएपछि रित्तै फर्किएका गुरुङ विहीवार भने खाना समेत नखाइ मल लिन आएका थिए । ‘पाखो बारीमा कोदो लगाएको छु, मल नहाली उब्जनी हुन छाड्यो, पहिले पनि आएको थिए । नपाएपछि रित्तै गए ’ शेर बहादुरले भने, ‘आज पनि मल बाड्ने खवर पाएको थिए र सवेरै खाना समेत नखाइ हिडेँ तैपनि लाइनमा ५०/५५ जना भन्दा पर छु ।’
शेर बहादुरलाइ मात्रै होइन मल नपाएर धादिङका सवैजसो किसानहरु समस्यामा परेका छन् । देशैभरि रायायनिक मलको हाहाकार छ, न त भनेको बेला किसानले मल पाएका छन् नत पाएको बेलामा भनेजति किन्न नै पाएका छन् । नीलकण्ठ नगरपालिका वडा नं १२ कि केशव कुमारी श्रेष्ठले भनिन्, ‘दुइ हप्ता अघि नै धान र कोदोमा मल हाल्ने बेला भइसकेको थियो । तीन पटक किन्न भनेर आएर खाली हात फर्किएँ, चाहिएको बेला दिन नसके बाली सप्रिन्न, किसानको यो दुःख कसले हेरेदिने ?’ मल वितरण गर्ने नीलकण्ठ सहकारीमा विहीवार मल आउने थाहा पाएकी श्रेष्ठ विहानै आएपनि उनीभन्दा अगाडी अरु ४०÷४५ जना कृषक मल लिनको लागि लाइन लागिसकेका थिए ।

मल लिन आएका सदरमुकाम आसापासका १ सय ५० भन्दा बढी कृषकहरु पनि भदौरे घामको पर्वाह नगरी २० किलो मल किन्न घण्टौ लाइनमा बसेको थिए । देशभर रासायनिक मलको हाहाकार छ । गत असार÷साउनमा लगाइएको धान र कोदो, तथा तरकारी बालीहरुमा समयमै मल हाल्न नपाएर बालीनाली नै सुक्न थालेपछि किसानहरु समस्यामा छन् । बल्ल तल्ल जिल्लामा थोरै आएको मल पनि ६ घण्टा लाइन बसेर किन्नुपर्ने अवस्था आएपछि किसानहरु आक्रोशित बनेका छन् । दुःख गरेर लगाइएको बालीनालीमा समयमै मल हाल्न नपाउदा किसानहरु मर्कामा परेका छन् । थोरै मल किनेर धेरै जग्गामा जसोतसो पु¥याउनुपर्ने बाध्यतामा किसानहरु रहेका छन् । बालीनालीमा रासायनिक मल हाल्नको लागि दशौ पटक सदरमुकाम आएर रित्तै फर्किएका किसानहरु विहीवार मल आउने खवर पाएपछि विहानैदेखी लाइन लागेका थिए ।
यो समयमा रासायनिक मलको हाहाकार हुँदा जेठको अन्तिम तिर खेत रोपाइ (अगौटे धान) गर्ने किसानहरु बढी समस्यामा परेका छन् । नीलकण्ठ ३ कै कृषक राम बहादुर अधिकारीले आक्रोशित हुँदै भने, ‘जुनसुकै सरकार आएपनि मजदुरी गरेर खाने निम्न बर्ग र किसान वर्गलाइ किन यत्रो सास्ती, नेपाल कृषि प्रधान देश भनेर कुर्लन्छन्, मलवीउ त समयमा पाइदैन कसरी कृषिप्रधान ?’ पैसा तिरेरै किन्ने मल समेत सरकारले समयमै उपलब्ध गराउन नसक्दा खेतबारीमा दुःख गरेर खाने कृषकहरु समस्यामा परेका छन भने रासायनिक मल हाल्न नपाएर दुःख अनुसारको उब्जनी नहुने हो कि भन्ने चिन्तामा छन् ।
२०७५ भदौ २१ गते प्रकाशित