

१७ मंसिर, धादिङ –
चीनमा भइरहेको मिस वर्ल्ड २०१८ मा नेपालकी श्रृंखला खतिवडाले मल्टिमिडिया र ब्यूटी विद अ पर्पस अवार्ड जितेकी छिन् ।
मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् ।
मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।
मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।
यो घोषणापछि मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा नेपाल तथा श्रृंखलालार्इ विश्वभरबाट बधाइको ओइरो लागेको छ । आफूले मल्टिमिडिया अवार्ड जितेकोमा खुशी साट्दै श्रृंखलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै आफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको सुनाइन् । उनले खुशी मिसिएर गला भारी भएको आवाजमा भनिन्, ‘एण्ड, आर्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा आँखा सुन्निन लाइसक्यो। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।’
२०७५ मंसिर १७ गते प्रकाशित