Sat. Jul 27th, 2024

नेपालले चाहेअनुसार सहयोग : भारत

Jaishankar_Foreign_Secretary_650_496480849_799686084_612130961
काठमाडौं – नेपालमा भूकम्पले पुर्‍याएको जनधनको क्षतिको अवस्थाबारे जानकारी लिन तथा सम्भावित भारतीय सहयोगबारे छलफल गर्न नेपाल भ्रमणमा आएका भारतीय उच्च सरकारी अधिकारीहरूले नेपाललाई सक्दो सहयोग गर्न तयार रहेको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव सुब्रमण्यम जयशंकरले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानसेनापति गौरवशमशेर राणासँगको भेटमा त्यस्तो बताएका हुन्।
‘नेपालमा गएको महाप्रलयकारी भूकम्पले निम्त्याएको विनाशप्रति भारत स्तब्ध छ। नेपालले चाहेअनुसारको सहयोग उपलब्ध गराउन इच्छुक छौं। हामी यहाँको पुनर्निर्माणमा हरतरहले सघाउन तयार छौं। हामीले यही कुरा यहाँको शीर्ष नेतृत्वसँग बतायौं’, डोभालले स्वदेश फर्किनुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग भने।
महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक पुगेर फर्केका भारतीय सुरक्षा सल्लाहकार डोभालले नेपालमा भारतीय चिकित्सक, उद्धार तथा सैनिक टोलीले उद्धारकार्यलाई तीव्रता दिइरहेको बताए।
‘भारतीय टोलीले नेपालमा गरिरहेको उद्धारको कामप्रति प्रधानमन्त्रीलगायत नेपाली उच्च नेतृत्वले प्रशंसा गर्नुभएको छ’, उनले भने। उनले नेपालमा गएको महाभूकम्पप्रति भारतीय प्रधानमन्त्री मोदी दु:खित र चिन्तित रहेको बताए।
‘नेपालमा भूकम्प गएको थाहा पाएलगत्तै प्रधानमन्त्री कोइरालालाई फोन गरी मोदीले जानकारी लिनुभएको थियो भने दिल्लीमा उच्चस्तरीय बैठक डाक्नुभएको थियो’, डोभालले भने ‘नेपाललाई परेको विपत्मा भारत र भारतीय जनता नेपालीसँगै रहेको मोदीले बताउनुभएको थियो।’ डोभालका अनुसार चिकित्सक, उद्धारकर्मी, भारतीय सैनिक गरी सात सयजनाको विभिन्न टोली नेपालमा परिचालित छ।
भेटमा सहभागी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईका अनुसार डोभालले भेटका क्रममा नेपाललाई के के सहयोग चाहिन्छ त्यसको सूची दिन कोइरालालाई आग्रह गरेका थिए। प्रधानमन्त्रीले नेपाललाई तत्काल पाल, औषधि तथा खाद्यान्न आवश्यक रहेको बताएका थिए।
यसैबीच नयाँदिल्लीमा अन्नपूर्णकर्मी आकांक्षा शाहसँग कुरा गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भारत नेपाललाई हरेक खालको सहयोग दिन तयार रहेको बताएका छन्।
‘नेपाललाई कुन—कुन खालको सहयोग चाहिन्छ नेपालले पहिचान गरेर हामीलाई दिनुपर्छ’, स्वरूपले भने। भारतीय विदेश मन्त्रालयले नेपालको भूकम्पपछि प्रत्येक दिनजसो दिल्लीमा मिडिया ब्रिफ्रिङ गर्दै आएको छ।
‘पीडितले आधारभूत राहत पनि पाएनन्’
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघीय मानवीय मामिला हेर्ने उपमहासचिव भलेरेई अमोस र युरोपेली युनियनका मानवीय सहायता तथा संकट व्यवस्थापन हेर्ने कमिसनर क्रिस्टोस स्ट्यान्लियाडेसले भूकम्प प्रभावित क्षेत्रका जनताले आधारभूत राहतसमेत पाउन नसकेको बताएका छन्।
‘भूकम्पपिडितलाई तत्काल उपलब्ध गराउनैपर्ने आधारभूत खानेकुरा तथा अन्य सेवा नपुगिरहेको अवस्था देखिन्छ’, उपमहासचिव भलेरेईले भनिन्, ‘नेपालका दुर्गम स्थानमा जनता संघर्ष गरिरहेका छन्।’
उनले भूकम्पले तहसनहस काठमाडौं र सिन्धुपाल्चोकका केही भूभाग, अस्पतालको भ्रमण एवं ६० वटा उद्धार समूहसँग भेट गरेकी थिइन्। सरकारले उद्धार तथा राहतका लागि पर्याप्त प्रयास गरिरहेको बताइरहेका बेला राष्ट्रसंघीय तथा युरोपेली अधिकारीहरूको यस्तो प्रतिक्रिया आएको हो।ललितपुरस्थित संयुक्त राष्ट्रसंघीय भवनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले नेपालमा गएको महाभूकम्पबाट प्रभावित लाखौं नेपालीलाई सहयोग जारी राख्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।अन्नपूर्ण अनलाइनबाट

 

About The Author

Loading...

अन्य समाचारहरु: