

सरिता श्रेष्ठ /१४ माघ, धादिङ –
भिरालो परेको बारीमा बाक्लो मात्रामा सुन्तलाका बोटहरु छन् । बोटमा पहेँलै भएर सुन्तला फलेका छन् । पुस्तौदेखि सुन्तला खेती गर्न सुरु गरेको धादिङको बेनिघाट रोराङ गाउँपालिका १०, जबाङ गाउँ सुन्तलाले भरिएको छ । २० वर्षदेखि सुन्तलाखेती गरिरहेका जबाङका ६५ वर्षीय हेमबहादुर गुरुङको मुख्य पेशा नै सुन्तलाखेती हो । भएका पाखाबारी खेर नफालेको गुरुङले बताए ।
विसं २०३४ सालदेखि नै सुन्तला खेती सुरु गरेका उनले यसलाई गतिलो आम्दानीको स्रोत बनाउन सफल भएका छन् । सुन्तला खेतीलाई व्यवसायको रूपमा अँगालेका उनले वर्षेनी आम्दानी बढाउँदै लगेका छन् । एउटा बोटबाटै सुन्तला राम्रो फलेमा ३ देखि ५ हजारसम्म आम्दानी गर्न सकिने किसानहरु बताउँछन् । यसरी फलाएको सुन्तला धादिङकै विभिन्न बजार, चितवनको फिस्लिङ, मुग्लिनमा पु¥याउने गर्दछन् ।
जवाङ गाउँ सुन्तलाखेतीले धानेको छ । यहाँका हरेक घरपरिवार सुन्तलाखेतीमा निर्भर छन् । अरु खेती गर्न पानीको समस्या छ भने पुस्तौदेखि नै सुन्तलाखेती गर्दै आइरहेको भएर अन्य खेतीमा मन नजाने गुरुङ बताउँछन् । उनले १५ रोपनी जग्गामा खेती गरेका छन्, त्यसबाट एक सिजनमा १८ लाखसम्म आम्दानी गर्छन् । ‘पहिलेपहिले आफूले खानका लागि मात्र तीन, चार बोट सुन्तला लगाएका थियौँ’, गुरुङले भने, ‘अहिले सयौ बोटहरु छन्, व्यवसायीक खेती सुरु गरेका छौँ ।’ थौरै लगानीमा धेरै आम्दानी लिन सकिने भएका कारण अन्य पेशातिर ध्यान नगएको गुरुङको भनाई छ । कामको सिलसिलामा विदेशीनेहरुका लागि गुरुङ उदारणीय पात्र बनेका छन् ।
गुरुङका दुई छोराहरु छन् । दुवै छोराले व्यावसायिक रुपमा नै सुन्तलाखेती गरेर बजारसम्म लैजाने गरेको गुरुङले बताए । पहिले मोटरबाटो नहुदाँ मानिसलाई बोकाएर बजार झार्नुपर्ने हुन्थ्यो । एक थुन्से सुन्तलाको पाँचसयसम्म तिर्नुपरेको गुरुङले सम्झना गरे । बोकेर लैजादा समय धेरै र जनशक्ति नपाउने समस्या हुन्थ्यो । टिपेका सुन्तला बोकेर लैजान नसक्दा त्यतिकै कुहिने गथ्यो । अहिले गाउँमा नै मोटरबाटो पुगेको छ । बोट नजिकैबाट गाडीमा हालेर बजारसम्म लैजान सजिलो भएको छ ।
अर्का किसान माया गुरुङ पनि सुन्तला खेतीमा रमाउने गरेकी छन् । आफ्नो भएका पाखोबारी सबैमा सुन्तला लगाएकी छन् । अन्य खेती गर्दा त्यति आम्दानी नमिलेपछि सुन्तलाखेती गर्न थालेकी गुरुङले बताइन् । सुन्तलाखेती गर्दा पनि पहिलेपहिले बाटो नहुने र बजारभाउ पनि नभएका कारण निराश हुने गरेकी थिइन् । किसानले सुन्तला किलोको ९६ रुपैयादेखि एक सय २५ रुपैयासम्ममा बेच्ने गरेका छन् । सुन्तलामा लाग्ने रोग, त्यसको पहिचान र समाधानका विषयमा गाउँपालिकाले तालिम तथा चिस्यान केन्द्र बनाउने बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर (हरि) डल्लाकोटीले बताए ।
२०७५ माघ १४ गते प्रकाशित